
उत्तरी गोरखाको साम्दो र छेकम्पारमा विओपी स्थापनाको तयारी तिव्र
चीनसँग सिमा जोडिएको उत्तरी गोरखाको साम्दो र छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापनाको तयारी तिव्र पारिएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार साम्दोमा विओपीका लागि भाडाको घर खोज्ने कार्य भइरहेको छ ।
‘भाडामा बस्नका लागि घर खोज्नु भनेर गृहबाट पत्राचार भएको छ’, प्रजिअ भुसालले भने, ‘त्यही अनुसार हामी लागि परेका छौँ ।’ त्यस क्षेत्रका स्थानीय र सरोकारवालासँग आवश्यक समन्वय र छलफल भइरहेको उनले जानकारीदिए ।
एक बर्षभित्र भवन निर्माणको काम पनि अघि बढ्ने सशस्त्र प्रहरी बल गुल्म गोरखाका डिएसपी सुजित विष्टले बताए । ‘एक बर्षभित्र भवन निर्माणको काम सुरु हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । जग्गाको प्रक्रिया मिलेर बजेट आयो भने भवन पनि छिट्टै बन्छ,’, उनले भने । उनका अनुसार हाललाई साम्दोको विओपीमा २० देखि २५ जनाको जनशक्ति रहने छ ।
छेकम्पारको प्रक्रियापनि अगाडि बढिसकेको प्रजिअ भुसालले बताए । ‘जग्गा एकिन भइसकेको छैन । दुईतीन वटा ठाउँ हेरेका छौँ । जिल्ला सुरक्षा समितिको बैठक बसेर उपयुक्त ठाउँ सिफारिस गरेर पठाउँछौ,’ उनले भने ।
विओपी स्थापना भएमा सिमा सुरक्षासँगै विपदको समयमा उद्धार र पर्यटक एवं स्थानीयको सुरक्षा समेत हुने उनले जानकारी दिए । अवैध वस्तुको ओसार पसार समेत नियन्त्रण हुने उनको अपेक्षा छ ।




