| सोमवार, अशोज १८, २०८३

‘आन्दोलन साह्रै महँगो’

बारपाक सुलिकोट गाउँपालिका–३ चिसापानी स्थित सिम्बु आधारभूत बिद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत इन्द्र प्रसाद गुरुङ विगत ६ दिनदेखि जिल्ला सदरमुकाम छन् । पूर्ण सेवा सुविधासहित पेशागत स्थायित्वको माग गर्दै सामुदायिक बिद्यालयका कर्मचारीहरुको आन्दोलनमा सरिक हुन उनी सरदुमकाम आएका हुन् ।

जेठ २१ देखि २६ सम्म शिक्षा बिकास तथा समन्वय इकाइ अगाडी भएको धर्ना कार्यक्रममा निरन्तर सहभागी मध्येका उनीपनि एक हुन् । तर आन्दोलनले उनलाई आर्थिक व्ययभार थपिदिएको छ ।

सदरमुकामबाट उनको घरसम्म जान गाडी भाडा एकतर्फी ६ सय रुपैया पर्छ । आउजाउ गर्दा १२ सय खर्च हुन्छ । खर्चिलो हुने भएकाले उनी सदरमुकाम बसेरै आन्दोलनमा साथ दिइरहेका छन् । तर सदरमुकाको बसाई पनि उनलाई आर्थिक हिसावले सहज छैन । दैनिक एक हजारका दरले खर्च हुने गरेको उनी बताउछन् ।

‘एक छाक खानाको दुइ सय ५० तिर्नुपर्छ, बिहान बेलुकी खाना र होटलमा बास बसेको समेत गर्दा दिनको एक हजारको हाराहारीमा खर्च छ’, उनले भने । आफूले पाउँदै आएको मासिक ११ हजार तलवले परिवार पाल्न मुश्किल भएको उनको गुनासो छ ।

अजिरकोट गाउँपालिका–४ सिम्जुङस्थित हिमालय माविमा कासको रुपमा कार्यरत भिम बहादुर अधिकारीको पनि समस्या उस्तै छ । आन्दोलनको सूरुवातदेखि नै साथ दिइरहेको उनी कहिले घरबाटै आउजाउ गर्छन् भने कहिले सदरमुकाममै बस्छन् । उनका लागी पनि आन्दोलन महँगो छ ।

‘घर आउजाउ गर्दा आठ सय रुपैया भाडा लाग्छ, सदरमुकाममै बस्यो भने खाना र कोठा गरेर त्योभन्दा बढी खर्च हुन्छ,’ उनले भने, ‘आम्दानी कम छ, आन्दोलनमा सहभागी हुदाँ खर्च धान्नै गाह्रो भएको छ ।’

उनीहरुजस्तै आन्दोलनमा सहभागी जनाउने धेरैको समस्या उस्तैै छ । तरपनि सरकारले माग सम्बोधन गर्छ भन्ने आशमा उनीहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । ६ दिन धर्नामा बसेका उनीहरु आज शनिवार काठमाण्डौमा हुने रिले अनसनमा सहभागी हुन जादै छन् । माग सम्बोधनका लागी उनीहरुले बिभिन्न चरणका आन्दोलन घोषणा गरेका छन् । तर आर्थिक हिसावले समस्या भएको उनीहरुको गुनासो छ ।

आन्दोलनमा नेपाल शिक्षक महासंघ जिल्ला समिति गोरखाले पनि एक्यवद्धता जनाएको छ । बुधवार बिज्ञप्ती जारी गर्दै समितिले आफ्नो पेशा र कर्ममा प्रतिवद्ध कर्मचारीहरुको न्यायपूर्ण र जायज मागको सुनुवाई गरी अविलम्व कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्