
उद्यमी बन्न चाहनेहरुका लागी उद्यमशीलता विकास तालिम सुरु
गोरखा सदरमुकाममा सात दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, त्रिपुरेश्वर काठमाडौ र गोरखा उद्योग वाणिज्य संघ, गोरखाको संयुक्त आयोजनामा मंगलबारदेखि तालिम सुरु भएको हो ।
२३ गतेबाट सुरु भएको तालिम २९ गते सकिनेछ ।
तालिममा उद्यमीको परिचय, महत्व, व्यवसायी अवसर, पहिचान, व्यवसायी छनौट, व्यवसाय योजनाको निर्माण, उत्पादन प्रक्रिया, बजारीकरण, उद्यमशीलताको प्रवद्र्धन, व्यवसायी लेखा तथा कर सम्बन्धी बारेमा जानकारी दिइने आयोजकले जनाएकोछ । तालिममा २१ वटा सेसन हुने छ भने १० जना भन्दा बढी प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।
तालिममा गोरखा नगरपालिका र पालुङटार नगरपालिकाका ३० जना भन्दा बढी व्यवसायीको सहभागिता रहेको छ । उद्यमशील बन्न इच्छुकहरुलाई तालिममा सहभागी गराइएको गोरखा उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण श्रेष्ठले बताए । उनीहरुलाई दैनिक ५ घण्टाको दरले तालिम दिइने उनले बताए ।
कार्यक्रममा लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्दका सिनियर डिभिजन इन्जिनियर अमित आचार्यले बेरोजगार युवाहरु तथा उद्यमी बन्न चाहनेहरुका लागि तालिम दिन लागेको बताए । अहिले मानिसहरु बढी श्रम बजारमा आबद्ध रहेको बताउदै उद्यमशीलतालाई जोड दिनका लागि तालिम संचालन गरिएको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवनज्योति श्रेष्ठले उद्यमशीलता तालिम प्राप्त गरेपछि परिणाम आउने गरी काम गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले उद्यमशीलता तालिमले स्वाबलम्बन बन्न मद्धत पुग्ने बताए । उनले स्थानीय स्रोत साधन परिचालन गर्न मिल्ने खालका तामिल आवश्यक रहेको बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष भगवान मास्केले केहि व्यवसायी गरिरहेकाहरुलाई यो तालिमले थप सहयोग पुग्ने बताए ।
संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षता तथा प्रमख जिल्ला अधिकारी दिनेस सागर भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उवासंघका केन्द्रिय सदस्य जीवनज्योति श्रेष्ठ, रिपुमर्दन गणका गणपति हेमराज विष्ट, एसपी अनुपम श्रेष्ठ, सशस्त्र प्रहरी बलका गोरखा प्रमुख सुजित विष्ट, पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेल लगायतका उपस्थितिमा कार्यक्रम भएको हो ।




