| बुधबार, कार्तिक २५, २०८३

धार्चे र चुमनुव्रीलाई बिशेष क्षेत्र कायम गर्न पहल गर्ने, आँपपिपल अस्पतालाई स्तरोन्नति गरिने

उत्तरी गोरखाको धार्चे र चुमनुव्री गाउँपालिकालाई बिशेष क्षेत्र कायम गर्न गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ । आइतवार आगामि आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशले दुई पालिकालाई बिशेष क्षेत्र कायम गर्न संघ सरकारसँग आवश्यक पहल गर्ने जनाएको छ । भौगोलिक बिषमता र बिकासको दृष्टिकोणले पछि परेका कारण यी पालिकालाई बिशेष क्षेत्र कायम गर्न लविङ गरिएको प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताए ।

गोरखाको आँपपिपल अस्पताललाई स्तरोन्नति गर्दै प्रदेश सरकार मातहत ल्याउन पहल गरिने उनले जानकारी दिए । जिल्लालको पालुङटार, घ्याल्चोकटार र पिपलटारजस्ता नदी किनारका फाँटहरुमा बर्षैभरी सिंचाइ सुविधा उपलब्ध गराउने गण्डकी प्रदेशको नीति तथा कार्यक्रम रहेको छ । मनास्लु र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई प्रदेश सरकार मातहत ल्याउन पहल गरिने बताइएको छ ।

राष्ट्रिय तथा प्रादेशिक लोकमार्गबाट स्थानीय तह र वडाको केन्द्र जोड्ेन सडक निर्माण तथा सुधारको कार्य शुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । एक स्थानीय तह एक खेलमैदान निर्माण कार्यलाई स्थानीय तहसँगको समन्वयमा निरन्तरता दिइने बताइएको छ । बुढीगण्डकी जलबिद्युत आयोजना कार्यान्वयनका लागि संघ सरकारले प्रदेशसँग समन्वय गर्ने वातावरण बनाउने योजना समेत गण्डकी प्रदेशको रहेको छ ।

बाँदर प्रभावित क्षेत्रलाई केन्द्रित गरी दुग्ध तथा मासुजन्य लगायतका निर्यात प्रवद्र्धन हुने बाली वस्तु उत्पादनमा आत्मनिर्भर बन्न विशेष कार्यक्रम ल्याइने प्रदेश सरकारको नीति छ । स्थानीय तहसँगको साझेदारीमा भूमि बैंकको अवधारणा लागू गर्ने योजना बनाइएको छ ।

तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापित कृषि तथा पशुपन्छी नियमन इकाईको सुदृढीकरण गर्दै अन्य आवश्यक स्थानमा विस्तार गरिने प्रदेश प्रमुख गुरुङले बताए । भाँगो, टुसा, निउरो, सिन्की, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौ लगायतका उत्पादनलाई ब्राण्डिङ तथा बजारीकरणमा प्रोत्साहन गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्