
जातीय भेदभाव तथा छुवाछुत कानूनीमा उन्मुलन भयो तर व्यवहारमा कार्यान्वयन भएन
जातीय भेदभाव तथा छुवाछुत कानूनीरुपमा उन्मुलन भएपनि व्यवहारमा नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमाआइतवार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् ।
सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख लिला परियारले नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन भएको १७ वर्ष पुगेपनि व्यवहारमा भने परिवर्तन नभएको बताइन् ।नीति निर्माण तहमा दलित समुदायका व्यक्तिहरुको पुहँच हुनुपर्नेमा उनले जोड दिइन् ।
गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले नेपालमा लामो समयदेखि वर्ग विभेद कायम रहेकाले यसको अन्त्य गर्नुपर्ने बताए । उनले नेपालमा सामाजिक साँस्कृतिक क्रान्तिको आवश्यक रहेको धारणा व्यक्त गरे । नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सचिव दिल बहादुर सेन्चुरीले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागी संचालित कार्यक्रमहरु सदरमुकाममात्र केन्द्रित हुने गरेको गुनासो गरे ।
ग्रामिण भेगमा पनि यस्ता कार्यक्रम संचालन हुनुपर्ने उनले बताए । नेपाल दलित संघका केन्द्रीय सदस्य इश्वर परियारले दलित समुदाय धार्मिक र साँस्कृतिक रुपमा अपहेलित हुनुपरेको गुनासो गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले लागुपदार्थ, बहुविवाह र छुवाछुतका बारेमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा अधिवक्ता रेशमबाबु विश्वकर्माले जातीय भेदभाव ः कानुन उन्मूलन व्यवहारमा यथावतको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
समाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।




