| बुधबार, कार्तिक २५, २०८३

जात तथा भाषागत जनसंख्यामा नयाँ अद्यावधिक : कुन जाति कति, कुन भाषा बोल्ने कति ?

नेपालको जनगणना २०७८ को जाति तथा भाषाका आधारमा नयाँ तथ्यांक अद्यावधिक भएको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको जातजाति, भाषा, धर्मावलम्बीहरुको नयाँ अद्यावधिक अभिलेख अनुसार कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेकामा सबैभन्दा धेरै क्षेत्री समुदाय रहेको पाइएको छ । क्षेत्री समुदाय ४७ लाख ९६ हजार ९९५ जना अर्थात कुल जनसंख्याको १६.४५ प्रतिशत रहेको तथ्यांक विभागको अभिलेखमा उल्लेख छ ।

त्यस्तै दोस्रो धेरै पहाडी ब्राह्मण समुदाय छ । उनीहरुको जनसंख्या ३२ लाख ४२ हजार ३७३ जना अर्थात कुल जनसंख्याको ११.२९ प्रतिशत रहेको छ । त्यस्तै तराई व्राह्मणको जनसंख्या दुईलाख १७ हजार ७७४(०.७५ प्रतिशत) रहेको पाइएको छ ।
त्यस्तै गोरखामा मात्र बसोबास गर्ने चुम, नुब्रीहरुको संख्या चारहजार ४१४ जना(०.०२ प्रतिशत) रहेको छ । चुमनुब्री भाषा बोल्नेहरुको संख्या चारहजार २८४ रहेको उल्लेख गरिएको छ ।

उनीहरुको जनगणना अहिले पहिलो पटक गरिएको हो ।
त्यस्तै गोरखा उद्गम मानिने बराम समुदायको संख्या सातहजार ८५९ जना रहेको छ भने बराम भाषा बोल्नेहरुको संख्या एकहजार ५३९ मात्र रहेको छ । घले समुदायको जनसंख्या ३५ हजार ४३४ रहेको छ भने घलेभाषा बोल्नेहरुको संख्या २३ हजार ४९ रहेको छ ।

नेपालमा मगर समुदाय २० लाख १३ हजार ४९८(६.९प्रतिशत) रहेको छ भने मगर भाषालाई मातृभाषाका रुपमा प्रयोग गर्नेको संख्या आठलाख १० हजार ३१५(२.७८ प्रतिशत) रहेको छ । तामाङ समुदायको संख्या नेपालमा १६ लाख ३९ हजार ८६६(५.६२ प्रतिशत) रहेको छ भने तामाङलाई मातृभाषाका रुपमा प्रयोग गर्नेको संख्या १४ लाख २३ हजार ७५ (४.८८) रहेको छ । विश्वकर्मा समुदायको जनसंख्या नेपालमा १४ लाख ७० हजार १०(५.०४ प्रतिशत), मुसलमान समुदायको जनसंख्या १४ लाख १८ हजार ६७७(४.८६ प्रतिशत) रहेको पाइएको छ ।

त्यस्तै नेवारको समुदायको जनसंख्या नेपालमा १३ लाख ४१ हजार ३६३(४.६ प्रतिशत) रहेको छ भने परियार समुदायको जनसंख्या पाँचलाख ६५ हजार ९३२(१.९४ प्रतिशत) रहेको छ । गुरुङ समुदायको जनसंख्या नेपालमा पाँचलाख ४३ हजार ७९० जना(१.८६ प्रतिशत) छ भने गुरुङभाषा मातृभाषाका रुपमा बोल्नेहरुको संख्या तीनलाख २८ हजार ७४(१.१२ प्रतिशत) रहेको पाइएको छ ।

सन्यासी, दशनामीको संख्या नेपालभर एकलाख ९८ हजार ८४९ जना(०.६८ प्रतिशत), कुमालको जनसंख्या एकलाख २९ हजार ७०२(०.४४ प्रतिशत) छ भने मातृभाषा कुमाल बोल्नेहरुको संख्या १८ हजार ४३५(०.०६ प्रतिशत) र घर्ती, भुजेलको जनसंख्या देशभर एकलाख २० हजार २४५ जना(०.४१ प्रतिशत) र भुजेल भाषा बोल्नेहरुको संख्या १३ हजार ८६ रहेको पाइएको छ । त्यसैगरी माझीहरुको संख्या एकलाख ११ हजार ३५२ जना, चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६४ जना रहेको छ भने मातृभाषा चेपाङ बोल्नेको संख्या ५८ हजार ३९२ रहेको छ ।

खवासहरु २२ हजार ५५१ जना, भोटेहरु १५ हजार ८१८ जना, बादीहरु ११ हजार ४७० जना, गाइनेको संख्या देशभर छ हजार ९७१ जना र कुसुण्डाको संख्या जम्मा दुईसय ५३ जनामात्र रहेको तथ्यांक विभागले जारी गरेको अभिलेखमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्