| बुधबार, कार्तिक २५, २०८३

करेण्ट चाउचाउमा किरैकिरा भेटियो

शिव उप्रेती :

पिरो चाउचाउ भनेर नाम कमाएको करेण्ट चाउचाउमा गोरखाका उपभोक्ताले किरा फेला पारेका छन् । गोरखा नगरपालिका वडा नं. ७ डण्डीडाँडामा उपभोक्ताहरुले चाउचाउ खान लाग्दा किरैकिरा फेला पारेका हुन् ।

‘हामी तीन जनाले आज पिरो करेण्ट चाउचाउ खाऔँ भनेर दुईवटा चाउचाउलाई तातोपानीमा उमाल्यौँ । उमालेको मैले नै हो’, स्थानीय कल्पना श्रेष्ठले भनिन्, ‘ढकनी झिकेर हेर्दा त किरैकिरा तैरिरहेको रहेछ । त्यसपछि हामीले वरिपरिका अरु मान्छेहरुलाई पनि देखायौँ । सबैले छिःछिः थुः थुः गर्न थाले ।’ यसअघि पनि करेण्ट चाउचाउ खाने गरेको तर अबदेखि यो चाउचाउ नखाने उनले बताइन् ।

दुई जना साथीहरु चाउचाउ बनाउँदै गरेका बेला आफू बाहिरबाट आइपुगेको अर्की दुर्गा थापाले बताइन् । ‘उहाँहरुले चाउचाउ बनाउँदै हुनुहुन्थ्यो । म भर्खर बाहिरबाट आइपुगेको थिएँ’, उनले भनिन्, ‘उहाँहरुले कीरा फेला पार्नुभयो । उहाँहरुले हेर्न बोलाएपछि मैले पनि हेरेँ ।’ चाउचाउमा त्यस्तरी किरा परेको आफूले पहिलो पटक देखेको उनले बताइन् । अनि हामीले नखाइकन फाल्यौँ ।’ चाउचाउ म्याद गुज्रेको उनले बताइन् । ‘२०२१ मे मा बनेको लेखेको थियो’, उनले भनिन्, ‘डेट कहिले सकिने भनेरचाहिँ लेखेको देखिएन ।’

एशोदा फुड्स प्रालिद्वारा उत्पादित करेण्ट चाउचाउ गोरखा लगायतका क्षेत्रहरुमा लोकप्रिय छ । कम्पनीबाट हिफाजतसाथ पठाएको चाउचाउ म्याद गुज्रिएर वा खोल च्यातिएर बिग्रिएको हुनसक्ने गण्डकी प्रदेशका सेल्स मेनेजर सूर्यराज बरालको भनाइ छ । ‘उद्योगबाट १२० डिग्री सेण्टिग्रेडमा उमालेको हुन्छ । मेटालिक ¥यापरमा प्याक गरेर बजारमा पठाएको हुन्छ’, बरालले भने, ‘डेटअफ हुँदैमा किरा त पर्दैन, प्याकेट फुटेको हुनसक्छ । उपभोक्ता पनि सजग हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्