
सहकारीको रकम हिनामिना गरेको आरोपमा गोरखाका श्रेष्ठ सहित ६ पक्राउ
सहकारीको रकम हिनामिना गरेको आरोपमा पालुङटार नगरपालिका–७ का रामकुमार श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौको बुढानिलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाको आठ करोड १८ लाख ८९ हजार हिनामिना गरेको आरोपमा उनी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा श्रेष्ठ सहित बूढानीलकण्ठ नगरपालिकाका भानुकुमार शर्मा, प्रमोदकुमार न्यौपाने, सोमलाल श्रेष्ठ, वीरबहादुर तामाङ र शम्भु कार्की रहेका छन् । बचकर्ताले बचत गरेको पैसा संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गर्दै फिर्ता नदिएको बताइएको छ ।
बचत रकम फिर्ता नदिई ठूलो धनराशिको अपचलन गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बिरुद्ध कारवाही प्रक्रिया अघि बढाइएको र आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।




