
स्वकीय सचिवको बिषयमा विवाद हुदाँ नगरकार्यपालिका बैठक स्थगित
बिहीवार बसेको गोरखा नगरकार्यपालिकाको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित गरिएको छ । मेयरका स्वकीय सचिवको काम र कर्तव्यबारे छलफल गर्न उपप्रमुख सहित बहुमत कार्यपालिका सदस्यहरुले माग गरेपछि मेयरले बैठक स्थगित गरेका हुन् ।
बैठकमा छलफलका लागी आर्थिक बर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रम र १२ औ नगरसभा, नीति तथा कार्यक्रम तयारमा बिज्ञहरुको परामर्श, पृथ्वी जयन्तीको खर्च भुक्तानी, बजेट रकमान्तरण लगायतका आठ एजेण्डा तय गरिएको थियो । समकालिन घटनालाई पहिले छलफल गर्नुपर्ने माग राख्दै कार्यपालिका बहुमत सदस्यले स्वकीय सचिवको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउन भनेपछि मेयरले बैठक स्थगित गरेको उपमेयर मसलीमाया थोकरले बताइन् ।
‘स्वकीय सचिवको करार सम्झौतामा उहाँको क्षेत्राधिकार र काम कर्तव्य के छ, त्यो ल्याएर सुनाउनुहोस् भन्यौ’, उनले भनिन्, ‘तर उहाँले एउटा स्वकीय सचिवको क्षेत्राधिकारबारे तपाईहरुलाई जान्न आवश्यक छैन, यो कुरा नर्मल भइसक्यो, यसलाई ठु्लो नबनाम भन्नुभयो ।’ छलफलको माध्यमबाट सो बिषयको निकास ननिकालेसम्म अर्काे एजेण्डामा नजाने अडान लिएपछि मेयरले बैठक स्थगित गरेको उनले जानकारी दिइन् ।
एक नम्वरको एजेण्डाको बिषय समिक्षा रहेपनि मेयर सो बिषयमा प्रवेश गर्न नखोजेको वडा नम्वर २ का अध्यक्ष एवं कार्यपालिका सदस्य रहमतुल्ला मियाले बताए । ‘यसअघिका बैठकमा सधै समिक्षा भन्ने बिषयमा छलफल हुन्थ्यो तर आज मेयरले समिक्षा राख्न उपयुक्त लागेन यसलाई नराख्ने भन्दै अघि बढ्न खोज्नुभयो,’ उनले भने, ‘हामीले स्वकीय सचिवको अधिकार र कामबारे जानकारी गराउनुभन्दा बैठक स्थगित भयो भन्दै उठेर हिड्नुभयो ।’
मेयर कृष्ण रानाले उहाँहरु अरु एजेण्डामा प्रवेश गर्न नचाहेपछि बैठक स्थगित गरेको बताए । ‘स्वकीय सचिव र कर्मचारीबिचको विवादको बिषयलाई क्लिअर गरेर जानुपर्छ भनेर उहाहरुले भन्नुभयो, मैले त्यो क्लिअर भइसक्यो, कर्मचारीहरु काममा फर्किसक्नुभयो, अव त्यो कुरा नगरुम अरु एजेण्डामा जामभन्दा उहाहरु मान्नुभएन, अनि बैठक स्थगित गरे,’ उनले भने । छिट्टै अर्काे बैठक बोलाउने उनले आश्वासन समेत दिएका छन् ।
कर्तव्य र जिम्मेवारी भुलेर मेयरका स्वकीय सचिव अनिष अर्यालले केही दिनअघि गरेको बिवादास्पद गतिविधीका कारण नगरकार्यपालिकाको बैठक नै प्रभावित हुदै आएको छ । त्यसयता कार्यपालिकाका बहुमत सदस्यले पटक पटक बैठक राख्न माग गरेपनि मेयरले वेवास्ता गर्दै आएका थिए । दवावकै कारण बिहीवार बैठक बोलाइएको थियो । तर उक्त बैठकपनि एजेण्डामा प्रवेश गर्न नपाउँदै स्थगित गरिएको छ ।
यो पनि पढनुहोस्




