
फलोअप : मर्मतपछि संचालनमा आए गोरखा नगर क्षेत्रका सिसिटिभी क्यामेरा
बिग्रिएर बसेका गोरखा नगर क्षेत्रका सिसिटिभी क्यामेराहरु पुनः संचालनमा आएका छन् । आवश्यक मर्मत संहार गरेर केही दिनदेखि संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
हाल ७० वटा सिसिटिभी चालु अवस्थामा रहेको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । ‘करिव दुई महिनादेखि सिसिटिभी संचालनमा थिएनन्,’ उनले भने, ‘मर्मत पश्चात अहिले संचालनमा आइसके ।’ मर्मतका लागि गोरखा नगरपालिकाबाट चालु आर्थिक बर्ष पाँचलाख रकम विनियोजन भएको उनले बताए । सन टेक्नोलोजीसँग सम्झौता गरेर मर्मतको काम गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।
बाह्रकिलोदेखि अँवुवासम्मको क्षेत्रमा बाहेक अन्यत्र रहेका सबै सिसिटिभी क्यामेरा संचालनमा आइसकेको सन टेक्नोलोजीका नारायण भट्टले बताए । ‘कुल ७४ वटा क्यामेरा हो, ७० वटा चलिसक्यो, बाँकी चारवटा संचालन हुन बाँकी छ,’ उनले भने । अवको केही दिनमै ती क्यामेराहरु पनि संचालनमा आउने उनले जानकारी दिए ।
‘अन्य बजार क्षेत्रमा सरकारी फाइवर केवल भएकाले सजिलो भयो, बाह्रकिलोदेखि अवुवासम्म सुविसुको केवल भएकाले जोड्नका लागि उनीहरुसँग अनुमति लिनुपर्छ’, उनले भने । समन्वयको तयारी भइरहेको उनले बताए । कुल ७४ वटा क्यामेरामध्ये पाँच वटा नयाँ फेरिएको र बाँकी मर्मत गरिएको उनले जानकारी दिए ।
केवल तारहरु र फाइवर समेत फेरिएको उनको भनाइ छ । अहिले विपिचोकमा नयाँ प्वाइन्ट राखेर सिसिटिभी क्यामेरा जडान गरिएको उनले बताए । ब्याकअप पनि जडान भएकाले बिद्युत गएको समयमा पनि क्यामेरा चालु रहने बताइएको छ ।
जिल्लामा हुने अपराधका घटनाको अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले सामुदायिक सेवा केन्द्रको अग्रसरतामा करिव चार बर्षअघिबाट सिसिटिभी जडान कार्य सुरु भएको थियो । सो कामका लागि पहिलो चरणमा करिव २६ लाख रुपैयाँ खर्च गरिएको थियो ।
नगरपालिकाबाट विनियोजित १८ लाख र बिभिन्न संघसंस्थाबाट संकलित रकमले काम सुरु गरिएको हो । त्यसयता पनि बिभिन्न चरणमा गोरखा नगरपालिकाले सिसिटिभीका लागि रकम विनियोजन गर्दै आएको छ । सिसिटिभी क्यामेरा जडान कार्यक्रमका लागि हालसम्म करिव एक करोड भन्दा बढि रकम खर्च भइसकेको बताइएको छ ।




