| बुधबार, कार्तिक २५, २०८३

दूरदराजका कलाकारका चोयाको कला

यदु अधिकारी

नेपाल बहुजातीय, बहुभाषिक, बहु साँस्कृतिक मुलक हो । नेपाललाई प्राकृतिक रुपबाट हिमाली क्षेत्र, पहाडी क्षेत्र, तराइ क्षेत्र भनेर विभाजन गरिएको छ भने नदीको आधारमा पनि गण्डकी, कोशी र कर्णालीको आधारमा विभाजन गरिएको थियो । हाल नेपाललाई सात प्रदेशमा विभाजन गरिएको छ । हिमाली क्षेत्र जडीबुटी उत्पादन हुने, घाँसे मैदान उच्च रमणीय हिमश्रृङखलाले भरिएको क्षेत्र हो ।

पहाडी क्षेत्र रमणिय कृषि योग्य, फलफूल खेती हुने ठाउँ पनि हो । तराई क्षेत्र नेपालको चार कोसे झाडी भएको अन्नभण्डारको क्षेत्र हो । कलाले धेरै क्षेत्र ओगटेको छ । यसको विषय व्यापक छ । मूर्ति कला, चित्र कला, साहित्यक कला, कष्ट कला, वास्तुकला, पाषाण कला, सांगीतिक कला, हास्य कला, नृत्य कला आदि सयौँ कला छन् । चित्र कला, मूर्ति कला र पाषाण कलालाई एक ठाउँमा राख्न सकिन्छ ।

मानिसले जन्म लिएपछि कुनै न कुनै कला लिएको हुन्छ । कसैले ख्याति कमाएर सम्मानित भएका छन् । कसैमा आफनो जीविकाका लागि चलाउने निर्वाहमुखी सीप हुन्छ । नेपालका अरनिको कलाकारले चिनमा गएर नेपाललाइ चिनाएर प्यागोडा शैलीमा मूर्ति निर्माण गरेको इतिहासमा उल्लेख गरिएको छ । नेपाल आमाले समय समयमा विभिन्न क्षेत्रमा सीप भएका कलाकारहरुलाई जन्म दिइरहेकी छिन् । त्यस्ता विविध क्षेत्रका कलाकारहरुको सीप र कलालाई लिपिबद्ध नगर्नाले तिनीहरुको नाम समेत राज्यले राख्न सकेन । उनीहरुले सीपलाई हस्तान्तरण गरे । समाजले ती सीपलाई जीविकोपार्जनको माध्यम बनाए ।

यहाँ कला भनेर निकालाको चोयाको क्षेत्रलाई समेत समेटिएको छ । बेतबासको पनि विभिन्न किसिमका सामानहरु कलाकारले कलाहरु बनाउछन् । तिनीहरुको उल्लेख यहाँ गरिएको छैन । बाँसबाट धेरै जीविका चलाउने सामानहरु बनाउन सकिन्छ । गीत छ, ‘बाँसले सबैको गर्छ भलो, हुदैन ढिकी र हलो’ भन्ने लोकोक्ति प्रचलित छ । यसबाट नै बुझनु पर्छ बाँसबाट मान्छेको जीवनमा काम लाग्ने सबै सामग्रीहरु कलाकारले बनाउँछन् । गृहस्थी जीविका चलाउन घर, गोठका सामान चोया, साठा, डाँडा, बलो, खामो लगायत चोयाबाट बन्ने भकारी, चित्रा, डोको, ढुम्सी धेरै बनाउन सक्छन् । बाँस पहाडी क्षेत्रको सत्र सय मिटर सम्म हुन्छ । यसका प्रकारहरु धेरै छन् । सानो बाँसको विकास भर्खर गरिएको छ ।

नेपालका पहाडी क्षेत्रमा निकालो प्राकृतिक रुपमा उम्रिएको हुन्छ भने कतिपय ठाउँमा किसानहरुले सारेका पनि हुन्छन् । यो भिरपाखामा बढी हुन्छ । निकाला धेरै प्रकारका हुन्छन् । गुलियो(टुसा खाने), तीते, घुँडे आदि विशेषत गुलियो निकालोबाट धेरै चोयाका सामानहरु बनाउन सकिन्छ । बाँसबाट पनि यी सामानहरु बनाउन नसकिने होइन, यहाँ हिमाली क्षेत्रका दूरदराजका कलाकारहरुले निर्माण गरेका चोयाका सामानहरु उल्लेख गरिएको हुनाले बाँसको चर्चा गरिएको छैन ।

निकालो हिमाली क्षेत्रको हिउँदमा हिउँ पर्ने ठाउँमा राम्रो हुन्छ । नेपालका धेरै पहाडी जिल्लामा निकालोहरुको सामान बनाएर विक्री वितरण गरी दूरदराजका कलाकारहरुले जीविका चलाइरहेका छन् । गोरखा, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक लगायत हिमाली क्षेत्रमा पम्या, शिम्र्या, सिम्या, मङम्या यो चार हजार मिटर वरिपरि हुन्छ । चुम्या तल मात्र हुन्छ । यो सारै पातलो हुन्छ । यसको कागज जस्तो चोया हुन्छ । (बीरलाल गुरुङ)

निकालोको चोयाबाट मोहोला, कोर्को, विरिम, चाल्नो, झोलङगो, नाम्लो, बन्धन, दाम्लो, डोरी, तुइनको डोरी, मुरली, मुर्जुङ, विनायो, डोको, थुम्से, खाङग्रे, ढोकसे, घाँसपात बोक्ने कुखुरा छोप्ने, डोको डालो, चाल्नु, डेली, कोठी, घुम, स्याखु, पङखा, नाङलो, भकारीचित्रा, कोठी, मान्द्रो, बिनायो, काइयो, मुर्चुङगा लगायका विभिन्न किसिममा सामान बनाउन्छन् सक्छन् । विशेषत मान्द्रो र नाङलोको विट मार्न निकै कठिन हुन्छ । त्यो सीपलाई पहाडी क्षेत्रका आदिवासीले जीविकोपार्जनका लागि मात्र प्रयोग गरेका छन् ।

नेपालका दूरदराजमा जन्मिएका कलाकारहरुको बाँस र निकालाका सामान निर्माण गर्नेहरुको सम्मान समाज र राष्ट्रले गरेको छैन । तिनीहरुले निर्माण गरेका सामग्रीको मूल्य पनि उचित पाउदैनन् । ज्याला उठेको हँुदैन् । नयाँ पुस्ताले पूर्वजहरुको सीपबाट धेरै आम्दानी नहुने हुनाले त्यस्ता कला सिक्न ध्यान दिएकै छैनन् । राज्यले र स्थानीय तहले ती दूरदराजका कलाकारहरुको कलालाई सम्मान गरी तिनको सीपलाई पुस्तान्तरण गरेर संरक्षण गरेमा राज्य र समाजको कल्याण हुने थियो ।

प्रतिक्रिया दिनुहोस्