
गणतन्त्र दिवसमा भिमसेन थापा गाउँपालिकाबासीको सामूहिक दुर्घटना बिमा
भीमसेन थापा गाउँपालिकाले सम्पूर्ण पालिकावासीको सामूहिक दुर्घटना बिमा गरिदिएको छ ।
१६ औ गणतन्त्र दिवसको अवसर पारेर सोमवार प्रतिव्यक्ति ५० हजारको दुर्घटना बिमा गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । बिमाका लागि राष्ट्रिय बिमा कम्पनी लिमिटेड बीच सम्झौता भएको उनले जानकारी दिए ।
सम्झौता पत्रमा प्रथम पक्षको तर्फबाट गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जरा, प्रमुख प्रशासकीय अधिकृत अधिकारी र दोस्रो पक्षको तर्फबाट विमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कोइराला, व्यवस्थापक निञ्जन आचार्यले हस्ताक्षर गरेका छन् ।
‘नेपालभर कुनै पनि दुर्घटनामा परि कोही पालिकाबासीको मृत्यु भएमा ५० हजार दावी भुक्तानी हुनेछ,’ उनले भने, ‘दुर्घटनाबाट घाइते भएमा बिमा पोलिसि अनुसार उपचार रकम भुक्तानी दावी गर्न सकिनेछ ।’
बिमा अवधि २०८१ जेठ १५ सम्मको हुने बताइएको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार भीमसेन थापा गाउँपालिकामा कुल १६ हजार ९८६ जनसंख्या रहेका छन् ।




