| बुधबार, कार्तिक २५, २०८३

सडक बनाउँदा भत्किएको होटलको उचित क्षतिपूर्ति माग गर्दै गोरखाका घले काठमाडौमा धर्ना बस्दै

सडक बनाउँदा होटल भत्किएपछि क्षतिपूर्तीको माग गर्दै गोरखाका तेलबहादुर घले काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेका छन् । आरूघाट–लार्के सडक निर्माणको क्रममा नेपाली सेनाले पहरो फुटाउँदा धार्चे गाउँपालिका–९ केरौंजास्थित दोभान स्थित उनको ‘न्यु बूढीगण्डकी भ्याली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’ मा क्षति पुगेको थियो । बारपाक सुलिकोट गाउँपालिका–२ का घलेले मनास्लु पदमार्गस्थित दोभानमा होटल चलाएका थिए ।

‘२०७५ साल असोज १४ गते सडक खन्ने क्रममा ब्लास्ट गर्दा मेरो होटल भत्किएको हो,’ उनले भने, ‘सेनाले उचित क्षतिपूर्ति दिएन ।’ २०७३ सालको अन्तिममा होटल सुरू गरेका उनले एक बर्ष मात्र होटल संचालन गर्न पाए । त्यस अवधिमा ११ लाख रुपैयाँ आम्दानीसमेत गरेको घले बताउँछन् । ‘होटल बनाउन ४५ लाख रुपैयाँ खर्च भएको थियो, एक वर्षको आम्दानीले ११ लाख ऋण तिरेँ, ३४ लाख ऋण अझै छ,’ उनले भने, ‘होटल बनाएको जग्गा वर्षको १ लाख रुपैयाँ बुझाउने गरी भाडामा लिएको थिएँ । चार वर्ष भयो जग्गाको भाडा पनि तिर्न सकेको छैन ।’

नेपाली सेनाले मेजरको नेतृत्वमा सडक निर्माण कार्यदल राखेको छ । पहिले यहाँ निशान्त पण्डित मेजर थिए । ‘मेजर पण्डितका पालामा क्षतिपूर्ति पाइएन । नयाँ मेजर विनोद भट्ट आएपछि १३ लाख ८२ हजार रुपैयाँ क्षतिपूर्ति भनेर बैंकमा पठाइदिएका छन्,’ घलेले भने, ‘उचित क्षतिपूर्ति पाइएन ।

कसैले मेरो समस्या सुन्छ कि, समाधान गरिदिन्छ कि भनेर यहाँ बसेको हुँ ।’ उनले न्यायका लागि अदालत जाने तयारी सुरूमा गरे पनि एक चरण क्षतिपूर्ति पाएकोले नगएको बताए । ‘न्यायलय जान पाए त चित्त बुझ्थ्यो तर एकचरण क्षतिपूर्ति लिएकोले जान मिल्दैन पनि भन्छन्, त्यसैले यहाँ बसेको हुँ,’ उनले भने, ‘म नमान्दा नमान्दै बैंक खातामा पैसा हालिदिएछन् ।

काठमाडौंको बानियाँटारमा लगेर सही गर्न लगाएका थिए ।’ उनले आफ्नो होटलका सामग्री बिग्रिसकेको पनि बताए । ‘म पहिले पर्यटक गाइड थिएँ । अलिअलि अनुभव भएको भएर होटल व्यवसाय सुरू गरेको थिएँ तर सडक खन्दा भत्कियो। ऋण तिर्न गाह्रो भयो, उचित क्षतिपूर्ति पनि पाइएन,’ उनले भने ।

बेनिघाट–आरूघाट–लार्के भञ्याङ सडक ट्रयाक २०७४ वैशाख ११ गते शिलान्यास गरी सेनाले काम सुरू गरेको थियो । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्री यो सडक ट्रयाक शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्