| बुधबार, कार्तिक २५, २०८३

कर र भ्याटको समस्या समाधान गर्न गैरसरकारी संघसंस्थाको माग

कर र भ्याटको समस्या समाधान गर्न जिल्लाका गैरसरकारी संघसंस्थाहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल मार्फत अर्थमन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले गैरसरकारी संघसंस्थाहरुमाथि सरकारले लिएको नीतिमा सुधार गर्नुपर्ने बताएका छन् ।

सामाजिक संघ संस्थाहरुले प्राप्त गरेको अनुदान रकममा लगाइएको कर भ्याटको समस्या हल गर्नुपर्ने उनीहरुको माग छ ।

‘पछिल्लो चरणमा नेपाल सरकारका आन्तरिक राजस्व कार्यालयहरुबाट सामाजिक संस्थाहरुले प्राप्त गरेको वैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने र संस्थाहरुको आर्थिक वर्षको अन्तिम मौजदातलाई नाफा भनी आयकर समेत लिने गरि पत्राचार गर्दै नागरिक संघ संगठन माथि घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र नेपाली नागरिक संघसंस्थालाई बन्द गर्न खोजेको प्रति गैरसरकारी संस्था महासंघ नेपालकोको गम्भीर ध्यानाकर्षण भएको छ’ ज्ञापन पत्रमा भनिएको छ ।

मुनाफारहित सामाजिक संघसंस्थाहरु भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने उनीहरुको माग छ । सोही माग राख्दै उनीहरुले करदाता सेवा कार्यालय गोरखा मार्फत आन्तरिक राजश्व कार्यालयलाई पनि ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्