
ग्याजीको तामाखानी अनुसन्धान र उत्खनन गर्ने जिम्मा निजी क्षेत्रलाई
बिगत बर्षसम्म सरकारले अनुसन्धान तथा खोजतलास गरिरहेको बारपाक सुलीकोट ७ ग्याजीस्थित ‘तामाखानी’को अनुसन्धान तथा उत्खनन अब निजी क्षेत्रले गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले खानीको अनुसन्धान, अन्वेषण तथा खोजतलास गर्न निजी क्षेत्रलाई जिम्मा दिन लागेको हो ।
विभागले अन्वेषण गर्न निजी क्षेत्रलाई दिनका लागि ठेक्का आव्हान गरेको छ । पहिलो चरणमा अनुसन्धान गर्न दिने र पछि तामा उत्खननका लागि पनि ठेक्का दिने खानी तथा भुगर्भ विभागका सूचना अधिकारी नारायाण बास्कोटाले जानकारी दिए ।
बर्षौँदेखि गर्भमा रहेको तामा उत्खननका लागि खानी तथा भूगर्भ विभागले तदारुकता देखाएको हो । विभागले ग्याजीको ५.९५ बर्गकिलोमिटर क्षेत्रभित्र तामाखानी अन्वेषण तथा खोजतलासका दुईपटकसम्म टेण्डर गरेको छ ।
पहिलो पटक विभागले गत फागुन १४ गते खानीको अनुसन्धानका लागि टेण्डर आव्हान गरेको थियो । सार्वजनिक खरिद ऐनअनुसार ठेक्का स्वीकृत गर्न कम्तिमा तीनजनाको ठेक्का पर्नुपर्ने व्यवस्था छ ।
‘पहिलो पटक तीनजनाको ठेक्का पर्नुपर्ने, परेन, त्यसैले फेरि वैशाख २१ गते दोस्रो पटक ठेक्का आव्हान गरिएको छ’, सूचना अधिकारी बस्नेतले भने, ‘यसपटक कति जनाको पर्छ हेरौँ । जे होस्, यो तामा खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग अत्यन्त उत्सुक छ ।’कम्तिमा १७ लाख ८० हजार रुपैयाँ राजस्व तिरेर त्यहाँको अन्वेषण गर्न निजी क्षेत्रका लागि टेण्डर आव्हान गरिएको बास्कोटाले बताए ।
खानी तथा खनिज पदार्थ ऐन २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली २०५६ अनुसार पहिलो चरणमै सरकारले निजी क्षेत्रलाई तामा उत्खनन अनुमति दिन मिल्दैन ।
त्यसैले सुरुमा अनुसन्धान, अन्वेषण तथा खोजतलासका लागि भनेर अनुमति दिनका लागि ठेक्का आव्हान गरिएको छ । ‘प्रक्रिया सुरु भएको छ । कुनै न न कुनै दिन कामको सुरुवात होला नि’, वडाअध्यक्ष कृष्ण गुरुङ भन्छन्, ‘खानी तथा भूगर्भ विभागले सुरुदेखि नै चासोका साथ हेरिरहेको छ ।’व्यक्ति तथा समुदायले आँखाले देखेको भए पनि त्यसलाई खास खनिज भन्न सकिँदैन । सरकारी मापदण्डअनुसार अनुसन्धान गरेपछि मात्र सो तामालाई ‘खास खनिज’ भन्ने सरकारी प्रावधान छ ।
गतबर्ष खानी तथा भूगर्भ विभागले ‘सर्फेस’ अनुसन्धान गर्दा त्यहाँ तामाको गुणस्तर ‘राम्रो’ रहेको पाइएको वडा अध्यक्ष गुरुङले बताए ।एक महिना लामो अध्ययन गर्दा ग्याजीमा ‘राम्रो’ क्वालिटीको तामा छ भन्ने निश्कर्ष निकालिएको बिभागका सिनियर डिभिजनल जुओलोजिस्ट ठाकुरप्रसाद कँडेलले जानकारी दिए ।
२०२८ सालअघि सो ठाउँमा तामाको खानी सञ्चालनमा रहेको सो वडाका वडाअध्यक्ष गुरुङले जानकारी दिए । ‘२०२८ सालसम्म तामाखानी चालु थियो भन्ने बुढापाकाहरुको भनाइ छ । त्यतिबेलाको तामाको भाँडाहरु गाउँमा अहिले पनि पाइन्छ’, उनले भने, ‘तर पछि खानी तथा भूगर्भ विभागले नै उत्खनन बन्द गराएको हो । अब उत्खनन कार्य सुरु गर्न हामीले दबाब दिइरहेका छौँ ।’
खानी सञ्चालन हुन सकेमा देश धनी हुने, स्थानीय सरकार धनी हुने विश्वास उनले ब्यक्त गरे ।
यहाँ खानी चले स्वदेशी उत्पादन बढ्ने, आयात घट्ने जसले गर्दा देश धनी हुन्छ । स्थानीय सरकार धनी हुन्छ । स्थानीयबासीले रोजगारी पाउँछन । त्यस क्षेत्रमा सडक, विजुलीबत्ती लगायतका पूर्वाधार निर्माण हुने उनले बताए ।




