
गोरखाबजार क्षेत्रलाई सम्पदा बस्तीमा परिणत गर्न प्रधानमन्त्रीसंग परामर्श
गोरखा सदरमुकामको पुरानो बजार क्षेत्रलाई समेटेर ऐतिहासिक सम्पदा बस्ती निर्माण गरिने भएको छ । ठुलोआँगन, पँदेली, धारापानी, छिपिटोल, पाटेचौर, बराह लगायतका क्षेत्रलाई ऐतिहासिक सम्पदा शहर बनाउन लागिएको हो ।
यस बिषयमा गोरखा नगरपालिका र सम्पदा बस्ती अभियानका टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसित भेटघाट गरी परामर्श लिएका छन् । दाहाल प्रतिनिधिसभा सदस्यमा गोरखाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
सम्पदा बस्ती निर्माणका लागि सो क्षेत्रमा भएका घरहरुको स्वरुप परिवर्तन गरिने गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । ‘अहिले आरसिसी घरहरु छन्, त्यसलाई पुरानो मोडलमा ढाल्ने हो,’ उनले भने, ‘अगाडि भागमा आँखी झ्याल राख्ने र गारोको प्लाष्टर फुटाएर पुरानो इट्टाको मोडल बनाउने योजना छ ।’ उक्त बस्तीलाई एक प्रकारको होम स्टेको रुपमा बिकास गरिने उनले जानकारी दिए । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले बस्ती निर्माणको कार्य अघि बढाउन लागिएको उनको भनाइ छ ।
सम्पदा बस्ती निर्माणका लागि अहिले डिपिआर तयार भइरहेको छ । डिपिआरका लागी रविन्द्र पुरी फाउण्डेशनसँग सहकार्य गरिएको छ । ‘उहाँहरुको टोली यहाँ आएर बस्तीहरुको निरीक्षण र प्रारम्भिक नापजाँच गरेर गइसक्नुभएको छ, अहिले डिपिआरको काम भइरहेको छ,’ उनले भने ।
मेयर राना, फाउण्डेशनका प्रतिनिधि लगायतको टोलीले सोमवार प्रधानमन्त्री र गहृमन्त्रीलाई भेटेर बस्तीको मोडेलको बारेमा जानकारी गराएका छन् ।
आवश्यक बजेट विनियोजन गर्न माग समेत गरिएको मेयर रानाले बताए । ‘हामी बसेर बस्तीको मोडलबारे छलफल ग¥यौ, उहाहरुले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ,’ उनले भने ।
बजेट विनियोजन पश्चात कार्यविधि बनाएर अघि बढ्ने उनको भनाइ छ । आगामि बजेटमा बस्ती निर्माणका लागि नगरपालिकाबाट पनि बजेट विनियोजन हुने मेयर रानाले जानकारी दिए ।




