| बुधबार, कार्तिक २५, २०८३

सुन्तला खेतीमा प्रोत्साहन गर्न मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

सहिदलखन गाउँपालिका वडा नं २ मनकामनाको ढाँडबारीमा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । उद्योग वाणिज्य संघ मनकामना बजार इकाइद्वारा निर्माण गरिएको सुन्तलाको प्रतिमा सोमबार गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ र वडा अध्यक्ष सकुन थापामगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको मनकामनाको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचारप्रसार गरी कृषकहरुलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्नका लागि सुन्तलाकै प्रतिमा स्थापना गरिएको उवासंघ मनकामना बजार इकाइ समितिका अध्यक्ष हरि श्रेष्ठले बताए ।

उद्योग वाणिज्य संघ, मनकामना इकाइको ६ लाखको रुपैयाँ लागतमा सुन्तलाको प्रतिमूर्ति निर्माण भएको हो । मनकामना क्षेत्र सुन्तलाका लागि देशभर प्रसिद्ध रहेको र कृषकलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्दै उनीहरुको आर्थिक स्तरमा सुधार ल्याउनका लागि प्रतिमा स्थापना गरिएको उनको भनाइ छ । उनका अनुसार व्यक्तिले बसपार्कमा रुपमा दान गरेको जग्गामा सुन्तलाको प्रतिमा स्थापना गरिएको हो ।

यहाँका कृषकले सुन्तला उत्पादनबाट मात्रै वार्षिक रुपमा एक करोड भन्दा बढि आम्दानी गर्दै आएका छन् । यहाँको कृषकको मुख्य आम्दानी नै सुन्तला खेती भएको बताउदै मनकामनाको स्वादिलो र रसिलो सुन्तला मास्न नदिन, यहाँको पहिचान हराउन नदिनका लागि सुन्तलाको प्रतिमा स्थापना गरिएको उनले बताए ।

यसले आन्तरिक तथा बाह्य पर्यटकलाई मनकामनालाई सुन्तलाको पकेट क्षेत्रमा रुपमा चिनाउन समेत धेरै सहयोग पुग्ने इकाइ समितिका अध्यक्ष श्रेष्ठले बताए । अहिले सुन्तलाको बोटमा विभिन्न रोगको आक्रमणका कारण बोट मास्दै आएको र उत्पादन घट्दै प्रति उनले चिन्ता व्यक्त गरेका थिए । कृषकहरुलाई यस तर्फ ध्यान दिन र उत्पादन बढाउनका लागि अपनाउन पर्ने उपायहरुका बारेमा सजक रहन समेत उनले अनुरोध गरे ।

कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समयमा सुन्तलामा विभिन्न प्रकार रोगहरु देखिन थालेको र यसले सुन्तलाको बोट मासिनुका साथै उत्पादन घट्दै गएको बताए । सुन्तलामा लाग्ने रोगको नियन्त्रण गरी उत्पादन बढाउन तर्फ कृषकहरु लाग्नुपर्ने उनीहरुले बताएका थिए । त्यस्तै मनकामनालाई सुन्तलाको पकेट क्षेत्रलाई इतिहासमा मात्र सिमित राख्नु नहुने र यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाहय पर्यटक भित्र्याउनुपर्ने बताएका थिए ।

गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइ समितका अध्यक्ष हरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष सकुन थापामगर, उवासंघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, संघ जिल्लाका पदाधिकारी, इकाइ समितिका पदाधिकारी, जनप्रतिनिधि, स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्था आवद्ध पदाधिकारी लगायत स्थानीयहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्