
ठाँटीपोखरी बजारमाफूलजडित फुटपाथ निर्माण
पालुङ्टारको ठाँटीपोखरी बजारमा फूलको गमलासहितको फुटपाथ निर्माण गरिएको छ । पैदल यात्रुको सुरक्षा र सहरी सौन्दर्यका लागि पालुङटार नगरपालिकाको आर्थिक सहयोगमा फुटपाथ निर्माण गरिएको हो ।
नगरपालिकाको सहयोगमा ठाँटीपोखरी बजार व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ र स्थानीय टोल विकास संस्थाहरुले फूलको गमलासहितको फुटपाथ निर्माण गरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
‘ठाँटीपोखरी बजारमा फुटपाथ छैन । बजारको नजिकै विद्यालय, कलेज छन् । चहलपहल बाक्लै हुन्छ’, उनले भने, ‘फुटपाथ नहुँदा पैदल यात्रुलाई जोखिम पनि बढ्ने भयो, बजारको सौन्दर्य पनि कम हुने भयो । त्यसैले दुर्घटना न्यूनिकरण गर्न र सहरी सौन्दर्य बढाउनका लागि फूलको गमलासहित फुटपाथ निर्माण गरिएको हो ।’ सो कार्यक्रमका लागि पालुङटार नगरपालिकाले गतबर्ष बजेट तथा कार्यक्रम विनियोजन गरेको थियो । ‘गतबर्ष निर्माण गर्न सकिएन । यसबर्षचाहिँ निर्माण कार्य सुरु गरिएको छ’, उनले भने ।
बजारभित्र रहेका वनदेवी टोल,आँपपिपल जाने सडक र स्वामी चौतारा सडकमा फुटपाथ निर्माण गरिएको हो । ‘तीनवटा टोलमा गरी करिब चारसय मिटर लामो फुटपाथ बनाइन्छ’, नगरपालिकाका इञ्जिनियर सन्दीप मरहट्टा भन्छन्, ‘नगरपालिकाको २० लाख रुपैयाँ र स्थानीय उपभोक्ता समितिको २० प्रतिशत श्रमदान गरी करिब २४ लाख रुपैयाँको लागतमा फुटपाथ निर्माण गरिएको हो ।’ अहिलेसम्म धेरै काम सम्पन्न भएकाले जेठ मसान्तसम्म सम्पूर्ण काम सम्पन्न हुने उनले बताए ।




