
नक्कली भुटानी शरणार्थीका खास दोषीलाई कारबाही सुनिश्चित गर्न शान्ति समाजको आग्रह
देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउँदै विदेश पठाउने गिरोहका मूल नाइके पत्ता लगाई कारबाही सुनिश्चित गर्न मानव अधिकार तथा शान्ति समाज गोरखाले आग्रह गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र पठाउँदै समाजले सो प्रकरणका मुख्य दोषी पहिचान गरी कारबाही सुनिश्चित गर्न आग्रह गरेको हो ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मको सम्पूर्ण फेहरिस्ताहरुको सुक्ष्म अध्ययन, अनुसन्धान गरी दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन्, कानुनसम्मत कारबाही सुनिश्चित गर्न, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता, जवाफदेहिता सुनिश्चित गर्न र मानव अधिकारमैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन आग्रह गर्दछौँ’, शान्ति समाज गोरखाकी अध्यक्ष गोमा दवाडीद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रमा भनिएको छ ।
साथै ज्ञापनपत्र बुझाएपछि शान्ति समाजले जिल्ला प्रशासन कार्यालय गोरखाको परिसरमा केहीबेर धर्ना कार्यक्रम गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषी पत्ता लगाई कारबाही सुनिश्चित गर लगायतका प्लेकार्डसहित समाजका सदस्यहरुले धर्ना दिएका हुन् ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, समाजका वर्तमान कार्यसमितिका सचिव सीताराम तिवारी, समाजका पूर्व अध्यक्ष यदु अधिकारी, काशिनाथ अम्गाईलगायत सहभागी थिए ।




