
गोरखा नगरपालिकाका तीनसय गाईभैँसीमा लम्पी स्कीन विरुद्धको खोप लगाइयो
गोरखा नगरपालिका वडा नम्वर १३ र १४ स्थित याङकोटमा तीन सय वटा गाइभैसीलाई लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको छ । बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको आर्थिक सहयोग, भेटेरिनरी अस्पतालत तथा पशुसेवा विज्ञ केन्द्र गोरखा र गोरखा नगरपालिका पशुसेवा शाखाको प्राविधिक सहयोगमा खोप लगाइएको हो ।
देशभर फैलिएको यो रोग गोरखाका पशुचौपायमा पनि देखिएकाले खोप लगाइएको कार्यालयका सूचना अधिकारी डा. लालमणि अर्यालले बताए । सो लम्पी स्कीन रोग विरुद्ध खोप जिल्लामा पहिलो पटक लगाइएको उनको भनाइ छ ।
कार्यालयका अनुसार हालसम्म जिल्लाका तीन पालिकामा लम्पी स्कीन रोगको सङ्क्रमण देखा परेको छ । सहिदलखन, गण्डकी र बारपाक सुलिकोट गाउँपालिकाका पशुचौपायमा यो रोग देखा परेको हो ।
यो रोगको संक्रमण भएका पशुको दूध र मासु उत्पादनमा ह्रास आउने बताइएको छ । रोग नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा पशुचौपाय ओसारपोसार नगर्न, चरन क्षेत्रमा नलैजान कार्यालयले आग्रह गरेको छ ।




