| बुधबार, कार्तिक २५, २०८३

मध्यपहाडी लोकमार्ग : ठेकेदारको लापरवाहीले ठाटीपोखरी–मसानेठाटी खण्डको काम अलपत्र

केशव गुरुङ :

निर्माण कम्पनीको लापरवाहीका कारण मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तरगत पालुङटार नगरपालिकाको ठाटीपोखरीदेखि मसानेठाटी खण्डको काम अलपत्र छ । चालु आर्थिक बर्षको असार मसान्तसम्म काम सक्ने जिम्मा लिएको निर्माण कम्पनी अहिले आयोजनाको सम्पर्कमै छैन ।

कुल १३ किलोमिटर खण्ड कालोपत्रेका लागी हिम्डुङ प्यासिफिक कन्स्ट्रक्सनसँग सम्झौता भएको हो । हालसम्म कामको प्रगति २५ प्रतिशत मात्रै रहेको आयोजना कार्यालय ठाटीपोखरीले जनाएको छ ।

काम नगरेको भन्दै कारवाही स्वरुप कार्यालयले निर्माण कम्पनीको बैक ग्यारेन्टी जफत गरेको थियो । हारगुहार गर्दै निर्माण कम्पनीले उच्च अदालत पाटनमा निवेदन दियो । कारवाही नगर्न भन्दै अदालतले ‘स्टे अर्डर’ दिएपछि समस्या भएको कार्यालय प्रमुख सुनिल रंजितकारले बताए । ‘अदालतको स्टे अर्डरका कारण अफिसियल रुपमा कारवाही गर्न पनि पाइएन,’ उनले भने, ‘बिभागको कानूनी शाखामा लेखेर पठाएका छौ तर केही प्रतिक्रिया आएको छैन ।’

अदालतको स्टे अर्डर देखाउँदै निर्माण कम्पनी अहिले काम नगरी बसेको छ । आयोजनाको सम्पर्कमा आउन चाहेको छैन । यसअघि पनि वन क्षेत्रको वहाना देखाउँदै ठेकेदारले काममा लापरवाही गर्दै आएको थियो । तर अहिले सो क्षेत्रमा पर्ने सबै रुख कटान गरेर बाटो खुल्ला गरिसकिएको कार्यालय प्रमुख रंजितकार बताउछन् ।

अन्य चार खण्डमा भने काम भइरहेको उनले जानकारी दिए । पाँच खण्डमा बिभाजन गरेर गोरखामा मध्यपहाडीको काम भइरहेको हो ।

पालुङटार देखि पैदीभिरसम्मको १२ किलोमिटर खण्डको ९० प्रतिशत काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

छेवेटार–निबेलको १४ किलोमिटर खण्डको ७० प्रतिशत, निबेल–घ्याम्पेसालको १३ किलोमिटर खण्डको ५० प्रतिशत र घ्याम्पेसाल–आरुघाट खण्डको ७० प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

सबै खण्डको काम चालु आवको असारमसान्त सम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

ठाटीपोखरी–मसानेठाटी वाहेक अन्य खण्डको काम सम्पन्न हुने कार्यालयको अनुमान छ । मध्यपहाडी लोकमार्ग अन्तरगत गोरखाको ६२ किलोमिटर खण्डमध्ये हालसम्म २५ किलोमिटर कालोपत्रे भइसकेको कार्यालय प्रमुख रंजितकारले बताए ।

प्रतिक्रिया दिनुहोस्