
बैशाख महिनामा एकलाख २६ हजार जनाले चढे मनकामना केबलकार
स्थापना कालदेखि सफलताको सिँडी चढिरहेको मनकामना केबलकार चढ्नेको संख्या निरन्तर बढिरहेको छ । गत बैशाखमा चारबर्षकै सबैभन्दा धेरै यात्रुले सो केवलकारबाट यात्रा गरेका केवलकारका संचालक राजेशबाबु श्रेष्ठले बताए ।
वैशाख महिनामा मात्र एक लाख २६ हजार यात्रुले केबलकारबाट सेवा लिएका उनले बताए । ‘यो संख्या बिगत चारबर्ष यताकै सबैभन्दा धेरै हो । कोभिड नियन्त्रण भएपछि मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको छ’, उनले भने, ‘अहिले औसतमा दैनिक ४ हजार भन्दा बढिले सेवा लिँदै आउनुभएको छ ।’ भारतीय धार्मिक पर्यटकको संख्या उल्लेख्य रहेको उनले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकारबाट सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ । आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए ।
वैशाखसम्म कुल यात्रुमध्ये नेपाली ७१.१७% (६ लाख १९ हजार ३७३) र भारतीय २४.१०% (२ लाख ९ हजार ७४३) रहेको उनले जानकारी दिए । पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको उनको भनाइ छ । कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नति गरिसकेको छ ।
यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीको दावी छ ।




