| बुधबार, कार्तिक २५, २०८३

तातोपानी झोलुङ्गे पुल क्षेत्रको भीर ब्लाष्टिङमा सहयोग गरिदिन माग

बेनिघाट आरुघाट लार्केभञ्ज्याङ सडकखण्डमा पर्ने तातोपानी झोलुङ्गे पुलको क्षेत्रभन्दा माथिको भीर ब्लाष्टिङका लागि सहयोग गरिदिन माग गरिएको छ ।

हावाडाँडा–दोभान खण्डमा पर्ने सो क्षेत्रको भीर ब्लाष्टिङमा सहयोग गरिदिन भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको सडक तथा जल यातायात शाखाले रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।

ब्लाष्टिङका लागि भन्दै बेनिघाट आरुघाट लार्केभञ्ज्याङ सडक निर्माण कार्यदल गोरखाले २०७९ चैत्र ८ गते सडक बिभागमा पत्राचार गरेको थियो । यही बैशाख २१ गते सचिव स्तरीय निर्णय गरेर सडक बिभागले रक्षा मन्त्रालयमा पत्राचार गरेको छ ।

सो क्षेत्रमा सवारी आवतजावतमा कठिनाइ भएकाले ब्लाष्टिङ आवश्यक रहेको बताइएको छ । सडक फराकिलो बनाएमा सवारी सँगै स्थानीयलाई आवतजावत गर्न सहज हुने अपेक्षा समेत गरिएको छ ।

उत्तरी गोरखा हुदैँ तिव्वतसम्म जोड्ने उक्त सडकको काम नेपाली सेनाले गरिरहेको छ । हाल सो सडक पाङ्सिङसम्म टूयाक खन्ने काम भएको छ । घट्टेखोलासम्म सवारी साधन चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्