
गोरखामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते
गोरखामा सवारी दुर्घटनाबाट एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । गण्डकी गाउँपालिका वडा नं ६ की ७८ वर्षीय किर माया आलेको गोरखा अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखा डिएसपी लिलाराज लामिछानेले बताए ।
काठमाण्डौबाट गोरखा आउदै गरेको बा. ०१–०२५ च. ६२०४ नं.को बलेरो जिप गण्डकी गाउँपालिका वडा नं १ घौचुर स्थित कच्ची सडकबाट करिब ७० मिटर तल खसेको थियो । आइतबार राती नौ बजे तिर सवारी दुर्घटना भएको डिएसपी लामिछानेले बताए । सो दुर्घटनामा परी गम्भीर घाइते भएका ७८ वर्षी आलेको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
सवारी दुर्घटनामा परी गण्डकी गाउँपालिका वडा नं ६ का ७७ वर्षीय कनमाया आले, ७८ वर्षीय धन बहादुर आले, ८१ वर्षीय तिर्थ बहादुर आले, ७२ वर्षीय पुर्ण बहादुर थापा, ६५ वर्षीय गंगा माया थापा घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
जिप चालक गण्डकी गाउँपालिका वडा न. ६ का ४३ वर्षीय केहर सिं थापालाई प्रहरीले नियन्त्रणमा लिइएको र घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




