
पत्रकार महासंघ गोरखाको वेभसाइट निर्माण
नेपाल पत्रकार महासंघ गोरखा शाखाको आफ्नै वेभसाइट निर्माण भएको छ । शाखाका हरेक गतिविधिहरु अव उक्त वेभसाइटमा हेर्न पाइने छ । पत्रकार महासंघको प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत वेभसाइट निर्माण गरिएको हो ।
शनिवार एक कार्यक्रमका बीच पत्रकार महासंघ गण्डकी प्रदेशले उक्त प्रविधि गोरखा शाखालाई हस्तान्तरण गरेको हो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा र पालुङ्टार नगरपालिकाका मेयर विवश चिन्तनले संयुक्त रुपमा उक्त प्रविधि महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् ।
महासंघ गण्डकी प्रदेश समितिको आयोजना, नेपाल पत्रकार महासंघ गोरखा शाखाको समन्वय र पालुङटार नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रमकै अवसरमा पर्यटकीय सम्भावना र विकास पूर्वाधार सम्बन्धी अन्तरक्रिया समेत भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चिन्तनले ऐतिहासिक क्षेत्र लिगलिगकोटको पुरातात्विक महत्वका सम्पदाको संरक्षण तथा पुर्वाधार निर्माणका लागि कार्यविधि बनाएर अघि बढाउने तयारी भएको बताए । पालिकाभित्र पूर्वाधार निर्माण लगायतका कार्यहरु धमाधम भइरहेको र आगामी एक÷दुई वर्षमा परिणाम देखिने जानकारी गराए ।




