
धार्चेमा संचालित पर्यटन प्रवद्र्धन तथा क्षमता अभिवृद्धि तालिम सकियो
धार्चे गाउँपालिका–३ खोर्लावेशीमा पर्यटन प्रवद्र्धन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको साझेदारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धार्चे मनास्लु पर्यटन बिकास समितिको आयोजनामा तालिम भएको हो ।
बैशाख २४ गतेदेखि सुरु भएको तालिममा वडा नम्वर १, २, ३, ५, ६ र मान्वुका गरी कुल ३३ जनाको सहभागिता रहेको थियो । तालिममा पर्यटनसम्बन्धी जानकार रामहरि देवकोटा र सन्दीप अधिकारीले सहजिकरण गरेका थिए । पर्यटन सचेतना, पर्यटनको सकरात्मक एवं नकरात्मक पक्ष, फोहोरमैला व्यवस्थापन, होम स्टे संचालन, स्वागत सत्कार लगायतका बारेमा प्रशिक्षण दिइएको थियो ।
चारदिनसम्म चलेको तालिमको वुधवार एक कार्यक्रमका बीच समापन गरिएको हो । समितिका अध्यक्ष साने गुरुङको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिमपछि सहभागीद्वारा खोर्लावेशी बजार क्षेत्रको फोहोरमैला संकलन समेत भएको बताइएको छ ।





