| आइतवार, अशोज १७, २०८३

खाजा विवादले रत्नलक्ष्मी माविमा पठनपाठन बन्द

पटक–पटक विवादका कारण चर्चामा आउने गरेको गोरखा नगरपालिका–८ डुम्रीडाँडास्थित रत्नलक्ष्मी माविमा फेरि किचलो सुरु भएको छ । खाजाको बिषयलाई लिएर प्रधानाध्यापक र शिक्षक बिच मतभेद बढेपछि मंगलवार विद्यालयको पठनपाठन समेत प्रभावित बन्यो । खाजा खाने छुट्टी पछिका कुनै पनि कक्षा संचालन भएनन् । खाजा बनाउने व्यक्तिको जिम्मेवारी हेरफेरको बिषयमा असन्तुष्ट बनेका शिक्षकहरु पढाउन नगएपछि कक्षा संचालन हुन नसकेको हो ।

विगत केही बर्षदेखि कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई दिवा खाजा बनाउने काम विद्यालयकै कार्यालय सहयोगी गीता बस्नेत केसीले गर्दै आएकी थिइन् । जसवापत उनले खाइपाइ आएको तलवबाहेक २५ सय रुपैया अतिरिक्त रकम पाउथिन् । तर केही दिनअघि मात्र प्रधानाध्यापक साधना त्रिपाठीले खाजा बनाउने जिम्मेवारी कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरेको कल ओभरिज नामक संस्थाका प्रतिनिधि बिमला पुन मगरलाई दिने निर्णय गरिन् ।

आवश्यक छलफल नगरी एकलौटी ढंगले खाजा बनाउने जिम्मेवारी हेरफेर गरेको भन्दै प्रधानध्यापकसँग शिक्षकहरु रुष्ट भए । विवाद बढ्यो । खाजा बनाउने मान्छे हेरफेर रेको विषय आफूहरुलाई जानकारी समेत नगराइएको शिक्षकहरुको गुनासो छ । ‘सधैझै हामी शिक्षकहरु आज खाजा खान पहिलेकै ठाउँमा गयौँ, तर प्रधानाध्यापकले अब यहाँ खाजा नखानुस्, कल ओभरिजको कोठामा जानुस् भनेर हामीले खाजा खाने गरेको कोठामा ताला लगाइदिनुभयो,’ शिक्षक रामकुमार बस्नेतले भने, ‘चित्त नबुझेपछि हामी पढाउन गएनौँ ।’

प्रधानाध्यापक त्रिपाठीले भने कार्यालय सहयोगी आफैले काम नगर्ने भनेपछि जिम्मेवारी हेरफेर गरेको बताइन् । ‘खाजा बनाएवापत उहाँले मासिक २५ सय रुपैया पाउने भन्ने थियो, तर केही महिनादेखि रकम नपाएपछि उहाँ आफैले काम गर्दिन भन्नुभएको हो,’ त्रिपाठीले भनिन् । कक्षा १ देखि ६ सम्मका अभिभावक बोलाएर जिम्मेवारी हेरफेर गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिको लापरवाहीका कारण विद्यालयमा समस्या आउने गरेको उनको आरोप छ । २०७९ साल साउन २१ यता बिव्यस समितिको बैठक समेत बस्न नसकेको उनले गुनासो गरिन् । यसबारे नगर शिक्षा शाखालाई समेत जानकारी गराएको उनले बताइन् ।

शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक बिचको विवादका कारण पटक पटक समस्या भएको बताए । हामीले मिलाउन पटक पटक प्रयास गर्दा पनि सकेका छैनौँ, अव हस्ताक्षेपकारी ऐन अनुसार हामी अघि बढ्छौँ,’ उनले भने । नगर शिक्षा समितिको बैठक बसेर समस्याको निकास दिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्