| बुधबार, कार्तिक २५, २०८३

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिकको सप्ताहव्यापी कार्यक्रम सुरु

गोरखामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८० सुरु भएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले उद्घाटन गरेका सो ट्राफिक सप्ताह सोमबारबाट एक हप्तासम्म ट्राफिक सप्ताह कार्यक्रम सुरु भएको हो ।

गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, पोखरा महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्याललय, पोखराको सहकार्य तथा समन्वयमा सोमबारबाट कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमको पहिलो दिन गोरखाको विपि चोक देखि जिल्ला समन्वय समिति हल सम्म जनचेतनामुलक सम्बन्धी प्लेकार्ड बोकेर प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । ¥यालीमा नगरप्रमख लगायतका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, विद्यार्थी, विभिन्न टोलका संस्था प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले अहिले जनघनत्व र सवारी साधन बढेसँगै ट्राफिक व्यवस्थापनमा समस्या थपिदै गएको बताए । सर्वसाधरणले ट्राफिक नियमको पूर्णरुपमा पालना नगर्दा सवारी दुर्घटना घटनाहरु वर्षेनिक बढ्दै गएको बताउदै ट्राफिक सप्ताह कार्यक्रमले सर्वसाधारणमा ट्राफिक नियम सम्बन्धी धेरै जनचेतना पुग्ने बताए । ट्राफिक नियमका पुर्णरुपमा पालन गरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायका र सर्वसाधारण सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले विगतमा भएगरेका गल्तीहरुलाई सच्याउदै अव सबै नागरिकले ट्राफिक नियमको पूर्णरुपमा पालना गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठले सबै सरोकारवालाहरु एक भएर सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणमा गर्नमा लाग्नुपर्ने बताए ।

उनले सडक निर्माण गर्दा ध्यान दिनुपर्ने, जनतालाई ट्राफिक नियम सम्बन्धी जनचेतना दिनुपर्ने र नियम उल्लघंन गर्नेलाई कडाइ रुपमा कारवाही गर्नुपर्न बताए ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामहरि केसीले सवारी दुर्घटना नियन्त्रणका लागि चालक मुख्य रुपमा जिम्मेवार भएर चलाउनुपर्र्ने, बजार क्षेत्र लगायतका स्थानमा जाम हटाउनुपर्ने र सडकको अवस्था सुधार गर्नुपर्ने बताए ।

के के छन् ट्राफिक सप्ताह कार्यक्रममा ?

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारीका अनुसार २५ गतेदेखि सुरु भएको कार्यक्रम वैशाख ३१ गतेसम्म संचालन हुनेछ । जसअन्तरगत पहिलोदिन सदरमुकामको विपिचोकदेखि जिल्ला समन्वय समितिको हलसम्म ट्राफिक नियमसँगै सचेतनामुलक प्लेकार्ड सहित प्रभावफेरी कार्यक्रम भएको छ ।

२६ गते दोस्रो जिल्लाभित्रका मुख्य सडकहरुमा चोक चोकमा ट्राफिक प्रहरीसँगै स्वयसेवक परिचालन गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, स्वयं सेवकबाट वाचन गर्ने, स्वयंसेवकबाट पैदलयात्रुलाई बाटो काट्न सिकाउने, सडकका खाल्डाखुल्डी पुर्ने, अव्यवस्थित पार्किङ हटाउने काम हुनेछन ।

तेस्रो दिन अर्थात वैशाख २७ गते ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्नेछ । जस अन्तरगत पर्चा पम्प्लेट वितरण, स्टिकर टाँस्ने, मास्क वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।

२८ गते चौथौ दिन चालक परिचालक प्रशिक्षण कार्यक्रम संचालन हुनेछ । जसमा लघु सचेतना कार्यक्रम समावेश गरी सडकमै सवारी चालक, परिचालकहरुलाई प्रशिक्षण प्रदान गर्ने र जुत्ता लगाए नलगाएको, पोशाक प्रयोग र ओभरटेक सम्बन्धी प्रशिक्षण दिने ट्राफिक प्रहरी प्रमुख भण्डारीले जानकारी दिए ।

ट्राफिक सप्ताह कार्यक्रमको छैठौ दिन अर्थात वैशाख ३० गते सवारी चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम हुनेछ । जिल्लामा रहेको स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी चालक सहचालकहरुको सामान्य जाँच गर्ने, कुनै रोगको नियमित औषधी सेवन गरेको भए नभएको जानकारी लिई नियमित औषधी सेवन गर्न प्रोत्साहन गर्ने र त्यस सम्बन्धी पर्चा पम्प्लेट वितरण गर्ने उनले बताए ।

कार्यक्रमको अन्तिम दिन वैशाख ३१ गते संचारकर्मीहरुसँग ७ दिने ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी समिक्षा सहितको अन्तरकृया कार्यक्रम हुनेछ । त्यसपछि यातायात व्यावसायी, मजदुर, शैक्षिक संस्था, स्थानीय तह, सामाजिक सघंसंस्थाका पदाधिकारी लगायत सरोकार राख्ने व्यक्तिहरुको उपस्थितिमा जिल्लाका मुख्य चोकहरुमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरी ट्राफिक सप्ताहव्यापी कार्यक्रम सम्पन्न हुने भण्डारीले जानकारी दिए ।

गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको अध्यक्षता तथा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठ, जिल्ला समन्वय समिति गोरखाका समन्वय अधिकारी नानी बहादुर , उद्योग वाणिज्य संघ गोरखाका प्रमुख कृष्णकुमार श्रेष्ठ, दरौदी यातायात प्रालीका अध्यक्ष नारायण खत्री, समुदायिक विकास केन्द्र गोरखाका अध्यक्ष रामहरी केसी, जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्