
चुमनुव्री गाउँपालिकाको प्रशासकीय भवनको डिपिआर तयार
चुमनुव्री गाउँपालिकाको प्रशासकीय भवनको डिपिआर तयार भएको छ । प्रशासकीय भवन बनाउनका लागि हिमाली क्षेत्रको कला र संस्कृति झल्कने गरी डिपिआर तयार गरिएको पालिका अध्यक्ष निमा लामाले बताए ।
‘कम्पाउण्ड वरपर भुईमा ढुंगा बिछ्याउँछौ, ढलान गर्दैनौँ,’ उनले भने, ‘झ्याल ढोकाहरु उत्तरी क्षेत्रकै डिजाइन अनुसार हुन्छ ।’ छिट्टै सम्झौता गरेर भवन निर्माण प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । भवन निर्माणका लागी करिव ९ करोड लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये ६० प्रतिशत संघीय सरकारको स्थानीय पूर्वाधार बिभाग र ४० प्रतिशत पालिकाले व्यहोर्ने छ ।
भवन निर्माणका लागि जग्गा प्राप्तसमेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । सिर्दिवासको फिलिम बजारमा पशु सेवा केन्द्रको शाखाको नाममा रहेको ४ रोपनी ६ आना जग्गा क्याविनेटबाट निर्णय गराएर प्राप्त गरिएको उनले जानकारी दिए । गत आर्थिक बर्षबाट भवन निर्माण कार्य अघि बढ्ने बताइएको छ । हाल पालिकाले घर भाडामा लिएर कार्यालय संचालन गर्दै आएको छ ।




