
गोरखामा निगरानी गर्न राखिएका सिसिटिभी क्यामेराकै भएन निगरानी
सामुदायिक सेवाकेन्द्रमार्फत गोरखा नगर क्षेत्रमा जडान भएका सिसिटिभी क्यामेरा हाल संचालनमा छैनन् । सिसी टिभी क्यामेराकै निगरानी नहुँदा दुई महिनादेखि बिग्रिएका ती टिभीहरु बेकम्मा भएका छन् ।
जिल्लामा हुने अपराधका घटनाको अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले सामुदायिक सेवा केन्द्रको अग्रसरतामा करिव चार बर्षअघिबाट सिसिटिभी जडान कार्य सुरु भएको थियो । सो कामका लागि पहिलो चरणमा करिव २६ लाख रुपैयाँ खर्च गरिएको थियो । नगरपालिकाबाट विनियोजित १८ लाख र बिभिन्न संघसंस्थाबाट संकलित रकमले काम सुरु गरिएको सामुदायिक सेवा केन्द्रका तत्कालिन उपाध्यक्ष एवं सिसिटिभी उपभोक्ता समिति संयोजक कैलाशबाबु श्रेष्ठले बताए ।
त्यसयता पनि बिभिन्न चरणमा गोरखा नगरपालिकाले सिसिटिभीका लागि रकम विनियोजन गर्दै आएको छ । श्रेष्ठका अनुसार सिसिटिभी क्यामेरा जडान कार्यक्रमका लागि हालसम्म करिव एक करोड भन्दा बढि रकम खर्च भइसकेको छ । कुल ७७ वटा सिसिटिभी क्यामेरा जडान भइसकेका छन् । तर ती सबै अहिले संचालनमा नभएको उनले जानकारी दिए ।
‘कतै गाडीले हानेर तार चुडाइदिएको छ, कतै पोलमा रुख ढलेर फाइवरमा समस्या बनाएको छ,’ उनले भने, ‘रकम नभएर मर्मत पनि गर्न सकिएको छैन ।’ सिसिटिभी क्यामेरा संचालनमा नआउँदा जिल्लाको सुरक्षा व्यवस्था कायम गर्न चुनौती थपिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए ।
‘प्रहरीको सबै ठाउँमा उपस्थिति नहुन सक्छ, त्यस्तो ठाउँमा कुनै अपराध वा दुर्घटना भइहाल्यो भने त्यसलाई टूयाकिङ र मोनिटरिङ गर्न सिसिटिभीले धैरै सहयोग पुग्थ्यो, तर राखिएका सिसिटिभी पनि संचालन नहुँदा समस्या भएको छ,’ उनले भने । चोरीका घटनाको अनुसन्धानमा समेत सिसिटिभी फुजेटले थप मद्धत पुग्नेमा अहिले समस्या उनको भनाइ छ ।
सिसिटिभी क्यामेरा संचालन नहुदाँ पसलमा चोरी हुन सक्ने जोखिम बढेको सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष टेकबहादुृर बिकले बताए । ‘हामीले पसलभित्र सिसिटिभी त राखेका छौँ तर बाहिरको सिसिटिभी पनि संचालन भए हामी सुरक्षित हुने थियौँ,’ उनले भने । बिग्रिएका सिसिटिभी मर्मतका लागि आफूहरु पनि समन्वय गर्न तयार रहेको उनले जानकारी दिए । बिग्रिएका सिसिटिभी मर्मतका लागि यसबर्ष पाँचलाख रकम विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।




