
काशिगाउँ र केरौँजाका विद्यार्थीलाई निशुल्क पोशाक
दुर्गमका विद्यार्थीलाई पढाइतर्फ आकर्षित गर्ने उद्देश्यले धार्चे ६ काशिगाउँको सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई निशुल्क विद्यालय पोशाक वितरण गर्ने गरिएको छ । दातृसंस्थाहरुसंग समन्वय गरी विगत आठबर्षदेखि विद्यालयले त्यहाँ अध्ययनरत सबै विद्यार्थीलाई निशुल्क पोशाक वितरण गर्ने गरेको वडा अध्यक्ष धनकुमार घलेले जानकारी दिए ।
भूकम्पपछि लगातार रुपमा विद्यालय पोशाक दिन थालिएको घलेले जानकारी दिए । ‘२०७२ सालदेखि असल छिमेकी नेपाल नामको संस्थाले पोशाक दिन सुरु गरेको थियो’, घलेले भने, ‘असल छिमेकीले दुईसय जनालाई र लेस विस्तारित नामक संस्थासंग समन्वय गरेर बाँकी रहेका सबै विद्यार्थीलाई पोशाक दिने गरिएको छ ।’ लेस विस्तारित संस्थाले छिमेकी वडा नं. २ को केरौंजा माविका सबै विद्यार्थीलाई पोशाक दिने उनले बताए ।
असल छिमेकीले वडा नं. ६ काशिगाउँको मञ्जुश्री मावि, यार्साको सूर्यदेवी आधारभूत विद्यालय र चामखर्कको चन्द्रदेवी आधारभूत विद्यालयका दुईसय जना विद्यार्थीलाई निशुल्क पोशाक दिने गरेको वडाअध्यक्ष घलेले बताए ।
असल छिमेकी नेपालले दिने पोशाक तीनवटै विद्यालयका दुईसय जनालाई वितरण गरिसकिएको छ । लेस विस्तारितले दिने पोशाक सिलाउने क्रममा रहेको घलेले बताए । ‘पाँच, छ जनालाई पोशाक सिलाउन खटाइएको छ’, उनले भने, ‘सबैको सिलाएर सकेपछि एकसाथ वितरण गर्नेे हो ।’
त्यस्तै वडा नं. २ को केरौजा माविका कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई पनि निशुल्क पोशाक वितरण गरिएको छ । सोही संस्थाको सहयोगमा केरौँजा माविका ३६० भन्दा धेरै जना विद्यार्थीलाई विद्यालय पोशाक दिने तयारी गरिएको हो । लेस विस्तारित नामक संस्थाले कक्षा एकदेखि नौसम्मका विद्यार्थीको कपडाको नापो लिएर गएका प्रधानाध्यापक सञ्जय ढकालले बताए ।
पोशाक पाएका विद्यार्थीहरुले सिलाइ खर्च भने स्वयंले तिर्ने गरेका छन् । ‘कपडा संस्थाले दिन्छ । पोशाक सिलाउन विद्यालयले मान्छे खटाउँछ । सिलाइको ज्यालाचाहिँ विद्यार्थी आफैले तिर्नुपर्छ’, वडाअध्यक्ष घलेले भने, ‘कपडाप्रति अपनत्व जगाउन पनि केही हिस्सा तिर्न लगाइएको हो ।’ विद्यालयले पोशाक दिन थालेपछि बालबालिकाहरु आकर्षित भएका छन् ।




