| बुधबार, कार्तिक २५, २०८३

सिरानचोकको प्राविधिक ल्याब परीक्षण केन्द्रको लाखौँको उपकरण प्रयोगविहिन

सिरानचोक गाउँपालिकाको प्राविधिक ल्याब परीक्षण केन्द्रले १९ लाखमा खरिद गरेको यन्त्र उपकरण प्रयोगविहिन भएको छ । लाखौँ खर्चेर पालिकाले खरिद गरेको उपकरण भवन अभावका कारण थन्किएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० आंै वार्षिक प्रतिवेदनले जनाएको छ ।

सिरानचोक गाउँपालिकाले प्राविधिक ल्याव परीक्षण केन्द्र सञ्चालनको लागि बालुवा गिट्टीको साईज छुट्याउने कंक्रिट टेस्ट, डण्डी टेष्ट, गिट्टी टेष्ट, ह्यामर टेष्ट, कम्पास जस्ता ३५ आइटमको ल्याब परीक्षण गर्ने यन्त्र उपकरण रू.१९ लाख २६ हजारमा खरिद गरेको थियो ।

तर भवन अभावका कारण यन्त्र उपकरण जडान तथा प्रयोग नभएको महालेखा परिक्षणको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ४ (१) मा मालसामान खरिद गर्नुअघि त्यस सम्बन्धी स्पेसिफिकेशन योजना विशेष आवश्यकता वा अन्य विवरणहरू तयार गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, गोरखा नगरपालिकाबाट गठित अनुगमन टोलीको प्रतिवेदनमा वडा नं ३ को विभिन्न ३ स्थानमा अवैध उत्खनन् गरिएको २१ हजार १७५ घ. मि ढुङ्गा, गिट्टी, बालुवा रहेको उल्लेख छ ।

सोमध्ये एक निर्माण व्यवसायीलाई ३ हजार घ. मि. बिक्री पश्चात् अर्को अनुगमनमा उक्त स्थानमा ६ हजार १२० घ. मि. मात्र सामग्री रहेको अनुगमन प्रतिवेदनबाट देखिन्छ ।

समयमै लिलाम बिक्री गरी सम्पूर्ण सामग्रीको राजस्व सङ्कलन गर्नुपर्नेमा आंशिक सामग्रीकोविना प्रतिस्पर्धा स्वीकृति दिँदा १२ हजार ५५ घनमिटर निर्माण सामग्री घाटगद्दी स्थलबाट हराई रू.३४ लाख ९ हजार राजस्व गुमेको देखिन्छ । सङ्कलित सामग्री हराएको सम्बन्धमा छानबिन गरी यथार्थता यकिन गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्