
१३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदर्शन
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाद्वारा १३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा गोरखा सदरमुकामको बसपार्कमा प्रदर्शन गरिएको छ । सदरमुकामको पुरानो बसपार्कमा सोमबार विभिन्न माग सहित प्रदर्शन गरिएको हो ।
मावन अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सदभाव, सहिष्णुता, जनतामुखी, जीवनमुखी र सेवामुखी भन्ने नाराका साथ प्रदर्शन कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा शान्ति समाजका केन्द्रीय कार्य समितिका सचिव सिताराम तिवारीले समाजको अवधारणा प्रस्तुत गरेका थिए ।
उनले असंगठित क्षेत्रका श्रमिकहरुको गाउँ नगर तहमा अभिलेख राखी मजदुर परिचयपत्रको व्यवस्था गर्नुपर्ने र उपयुक्त न्यूनतम ज्याला घोषणा गरी लागू गर्नुपर्ने बताए । श्रमिहरुको सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने, समान कामका लागि समान ज्याला हुनुपर्ने र श्रम क्षेत्रमा विद्यमान भेदभावको अन्य गर्नुपर्ने उनले बताए ।
मानव अधिकार तथा शान्ति समाज गोरखाका शाखा सभापति गोमा दुवाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शान्ति समाजका केन्द्रीय कार्य समितिका सचिव सिताराम तिवारी, शान्ति समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, गोरखा शाखाका पूर्व सभापति यदु अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमलाई गोरखा शाखाका उपसभापति शरदबाबु श्रेष्ठले सहजीकरण गरेका थिए ।




