
जिल्ला प्रहरी कार्यालय गोरखाको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक
जिल्ला प्रहरी कार्यालयको गोरखाले चैत्र महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार प्रहरी कार्यालय र कार्यालयको मातहतमा रहेका कार्यालयबाट संचालन भएका गतिविधिहरु सार्वजनिक गरेको हो ।
एक महिनाको अवधिमा अपराध अनुसन्धान तर्फ २८ वटा मुद्धा दर्ता भएका छन् भने ९ वटा मुद्धा फर्छौट र १९ जना प्रतिवादी पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार अदालतको फैसला कार्यान्वयन अन्तरगत २७ वटा मुद्धा कार्यान्वयन भएको छ । यसबाट ५ वर्ष सात महिना नौ दिन कैद सजाय र एक लाख ९६ हजार ८० रुपैया जरिवाना असुर गरेको छ ।
सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ३५ वटा कार्यक्रम गरिएको र १२ सय २९ वटा पर्चा, पम्प्लेट वितरण गरिएको छ । यसबाट १८ सय ९९ जना लाभान्वित भएको प्रहरी कार्यालयले जनाएको छ । कार्यालयमा ठाडो उजुरी तर्फ एक महिना भित्र ८३ वटा उजुरी परेका छन भने २७ वटा उजुरी फर्छौट भएको छ ।
एक महिनामा जिल्लामा १४ जना मानिस हराएकोमा १० जना फेला परेको कार्यालयले जनाएको छ । त्यस्तै, कार्यालयबाट एक महिनामा तीन सय ७ महिला र तीन सय ३० जना पुरुष गरी छ सय ३७ जनाले सेवा लिएका छन् ।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न समयमा ठाउँठाउँ चेकजाँचलाइ पनि तिव्रता दिएको छ । जस अन्तरगत एक महिनामा ठूलासाना सवारी साधन गरी आठ सय ५० जना कारवाहीमा परेका छन् । उनीहरुबाट रु सात लाख १३ हजार राजस्व संकलन गरेको छ । कार्यालयबाट एक महिना भित्रमा एक सय ३४ वटा जनचेतनामुलक कार्यक्रम गरेकामा सो कार्यक्रमबाट ६ हजार ६ सय ६९ जना लाभान्वित भएको जनाएको छ ।
प्राकृति सम्पदा सुरक्षा तर्फ अवैध रुपमा गिट्टी बालुवा उत्खनन तथा ओसारपोसारमा संलग्न रहेको प्रमाणका आधारमा ४ टयाक्टर र २ टिप्पर गरी ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । त्यसबाट ८० हजार राजस्व संकलन भएको जनाएको छ । अवैध गिट्टी बालुवा नियन्त्रण गर्नका सो कारवाही गरिएको हो ।
त्यस्तै, चैत्र ४ गते सिरानचोक गाउँपालिका वडा नं ७ सिम्लेको १९ वर्षीय राजेश परियारको शरीर आगो लागेको थियो । आगोले सख्त घाइते भएका उनलाई प्रहरी कार्यालय नयाँसाघुबाट तीन जनाको टोली खटिई स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिउको र उनको थप उपचारको लागि काठमाण्डौ स्थित किर्तिपुर अस्पताल पठाईएको थियो ।
त्यस्तै, चैत्र ८ गते चुमनुब्री गाउँपालिका वडा नं. १ धर्मशाला भन्दा २ घण्टा पैदल माथि लार्के तर्फ लार्के पास गर्न हिडेको जिल्ला नवलपुर कावसोतीका २६ वर्षीय सौरभ खनाल र वर्ष २२ वर्षीय अनिता घले गुरुङ हिउमा फसेको फसेको र उनीहरुलाई सामागाउँ प्रहरी चौकीबाट खटिएका टोलीले उद्धारा गरी हेलिकप्टर मार्फत काठमाडौ पठाएको थियो ।
चैत्र २७ गते बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ तुक्राङ बस्ने शेर बहादुर बरामको घरमा आगोलागी भएको र प्रहरी चौकी सौरपानीबाट खटिएको ४ जनाको टोलिले स्थानीयको सहयोगमा आगो पूर्णरुमा नियन्त्रण गरेको कार्यालयले जनाएको छ ।
त्यस्तै, चैत्र २९ गते चुमनुब्री गाउँपालिका वडा नं. ३ हावाडाँडा स्थित लार्के पास जाने क्रममा धार्चे गाउँपालिका वड नं. ७ लापु बस्ने गणेश बहादुर गुरुङलाई अकस्मात बाटोमाथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका थिए । उनलाई प्रहरी चौकी जगत गोरखाबाट खटिएको टोलीले उद्धार गरी हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौ पठाएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




