| बुधबार, कार्तिक २५, २०८३

गोरखामा सार्वजनिक विदामा पनि प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने

जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । सावर्जनिक विदाका दिनहरुमध्य १४ वटा सावर्जनिक विदाका दिनमा कर्मचारी व्यवस्थापन गरी सेवा दिइने सोमबार एक सूचना जारी गरी प्रशासन कार्यालयले जनाएको छ ।

ती विदाका दिनमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह हुने जानकारी गराएको हो ।
वैशाख २२ गते उभौली पर्व, चण्डी पूर्णिमा, बुद्ध जयन्तीका दिनमा सरकारले सार्वजनिक विदा दिएको छ । त्यस दिनमा पनि सेवा सुचारु हुने कार्यालयले जनाएको छ ।

त्यस्तै गणतन्त्र दिवस भनेर सार्वजनिक विदा दिइएको जेठ १५ गते, रक्षाबन्धन भनेर सार्वजनिक विदा दिइएको भदौ १४ गते, श्रीकृष्ण जन्माष्टमी भनेर विदा दिइएको भदौ २० गते पनि कार्यालय सञ्चालन गरिने सूचनामा उल्लेख छ । त्यस्तै असोज २८ गतेको घटस्थापना र पुस ९ गतेको इसाई धर्मालम्बीहरुको पर्व व्रिmसमस डेको दिनमा पनि प्रशासन कार्यालयबाट सो सेवा प्रवाह हुनेछ ।

त्यस्तै, पौष १० गते किराँत समुदायको उभौली पर्व, योमरी पुनही, पौष १५ गतेको तमु ल्होसारका दिनमा पनि कार्यालय सुचारु रहने बताइएको छ । पृथ्वी जयन्ती भनेर सार्वजनिक विदा दिइएको पौष २७ गते, माघी पर्व तथा माघे संक्रान्ती पर्व भनेर विदा गरिएको माघ १ गते पनि कार्यालय खुल्नेछ ।

जनयुद्ध दिवस भनिएको फागुन १ गते, प्रजातन्त्र दिवस भनेर विदा दिइने फागुन ७ गते, फागुन २५ गतेको महाशिवरात्री तथा अन्तराष्ट्रिय महिला दिवस, फागुन २८ गतेको ग्लोल्पो ल्होसार र इस्लाम धर्मालम्बीहरुको पर्व इद उल फित्र, इस्लाम धर्मालम्वीहरुको बकर इदका दिनमा पनि प्रशासन कार्यालयबाट नियमित रुपमा सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

नेपाल सरकार, गृह मन्त्रालय, सिहदबार काठमाडौको २०७९ चैत्र २ मा खण्ड ७२ संख्या ६५ नेपाल राजपत्रमा भाग ५ मा प्रकाशित सूचनामा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था भए बमोजिम सार्वजनिक विदाका दिनमा समेत कार्यालयबाट सेवा प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्