
अदालतभित्र हो–हल्ला तथा अशान्ति मच्चाउने तीन जना पक्राउ
गोरखा जिल्ला अदालतको परिसरमा होहल्ला तथा अशान्ति मच्चाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका वडा नं ३ का ४८ वर्षीय भीमबहादुर अंगाई, सिरानचोक गाउँपालिका वडा नं.४ का ३३ वर्षीय राजु नेपाली र सोही ठाउँका ३० वर्षीय राजिन नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
अदालतको मेलमिलाप केन्द्रमा शंकर नेपालीको जाहेरीले वादी, प्रतिवादी सुमित्रा नेपाली भएको अंश सम्बन्ध बिच्छेद मुद्दामा वादी र प्रतिवादी लगायतका व्यक्तिहरु छलफल गर्ने क्रममा उनीहरुले होलहल्ला तथा अशान्ति मच्चाएका थिए ।
साथै छलफलमा बसिरहेका व्यक्तिहरुलाई समेत जथाभावी हातपात गरेपछि उनीहरुलाई पक्राउ गरिएको डिएसपी लामिछानेले बताए ।
पक्राउ परेका तीन जना विरुद्ध शनिबार नै सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्धा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




