| बुधबार, कार्तिक २५, २०८३

मिटर व्याज पिडितको समस्या समाधानका लागि समिति गठन

मिटर व्याज पिडितहरुको समस्या समाधान गर्न गोरखामा पनि समिति गठन भएको छ । अनुचित लेनदेन(मिटर ब्याज)सम्बन्धी समस्या समाधान गर्न गठित जाँचबुझ आयोग लाई सहजीकण गर्न जिल्लास्तरीय मीटरब्याज पीडित समन्वय तथा सहजीकरण समिति गठन भएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा जिल्ला प्रहरी प्रमुख, जिल्ला न्यायाधिवक्ता, मालपोत कार्यालयका प्रमुख र नापी कार्यालयका प्रमुख सदस्य रहेका छन् । ‘अब समितिको बैठक बसी मिटरव्याज पिडितहरुको तर्फबाट एकजना र वैँकर्सहरुको तर्फबाट एकजना गरी दुईजना थप गर्नुपर्ने छ’, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भने, ‘मिटर व्याज पिडितहरुको समस्याका विषयमा गोरखामा पनि आवाज उठिरहेकाले सरकारले निर्देशन गरेबमोजिम समिति गठन भएको हो ।’

समितिले सत्यतथ्य सबै खोज अनुसन्धान गरेर प्रतिवेदन बनाई सरकारलाई पेश गर्ने उनले बताए । ‘सरकार मिटरव्याज पिडितहरुको समस्या समाधान गर्ने पक्षमा छ । नतिजा चाँडै आइहाल्छ’, उनले भने ।

गोरखामा पनि मिटर व्याजबाट पिडितहरु धेरै रहेको अनुमान प्रजिअ भुसालको छ । ‘अरु जिल्लामाचाहिँ संगठित भएर आन्दोलनमा उत्रिएको देखियो । गोरखाचाहिँ साहुको डर, धाक, धम्की, प्रलोभनमा परेर समस्या लुकाउन चाहेको देखियो । यो अबस्था झन खतरापूर्ण अबस्था हो’, उनले भने, ‘हामी सुक्ष्म रुपमा खोज, अनुसन्धानमा लागेका छौँ ।’

गोरखामा मिटरव्याजको चपेटामा परी कैयौँले घर, घडेरी गुमाइसकेका छन्, कैयौँ सर्वसाधारण ऋणीहरु तिर्नै नसक्ने ऋणमा चुर्लुम्म डुबेका छन् । अनासिब ब्याजमा कर्जा फिर्ता गर्न पाए फिर्ता गर्न आफूहरु तयार रहेको मिटर व्याज पिडित चन्द्रवीर बिक बताउँछन् । तर ३६ प्रतिशतका दरले तिर्नुपर्ने ब्याज पनि निश्चित समयपछि सावाँमा जोडेर फेरि त्यसको पनि व्याज तिर्नुपर्ने भएपछि आफूहरु पिडित भएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्