| बुधबार, कार्तिक २५, २०८३

आइतबार गोरखाबाट तनहुँ र चितवन सवारी चलाउन निषेध

भोलि आइतबार गोरखाबाट सवारीसाधन तनहुँ र चितवन जान नपाउने भएको छ ।

तनहुँ र चितवनमा भइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनलाई लक्षित गरेर अत्यावाश्यकीय सवारी साधन बाहेक अन्य सवारी साधन आउजाउनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

कार्यालयले शनिबार एक आकस्मिक सूचना जारी गर्दै तनहुँ र चितवन हुदै अन्यत्र जाने सवारी साधन पूर्ण रुपमा रोक लगाएको जनाइएको छ ।

आइतबारका दिन तनहुँ क्षेत्र नं. १ र चितवन जिल्लाको क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उप–निर्वाचन,सम्पन्न हुँदैछ । उक्त निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गराउन निर्वाचन आचारसंहिता तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम अत्यावश्यकीय सवारी साधन बाहेकका सवारी आवतजावतलाई रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए ।

उनका अनुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म लागि यस जिल्लाबाट तनहुँ र चितवन हुदै संचालन हुने सवारी आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको बताए ।

यो अवधिमा एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनमा प्रयोग हुने साधन, फोहरमैला ओसारपसारमा प्रयोग गर्ने साधन, तरकारी फलफूल तथा विद्युत सेवा तथा नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधन मात्र संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्