
छेकम्पारमा चुम श्याग्या शताब्दी महोत्सव सुरु
प्रधानमन्त्री पुष्पकमल दाहालले चुम श्याग्या शताब्दी महोत्सव बुधवार उद्घाटन गरेका छन् । तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिका ७ छेकम्पार पुगेर उनले महोत्सवको उद्घाटन गरेका हुन्् ।
उत्तरी गोरखाको छेकम्पारमा अहिंसा क्षेत्र घोषणा भएको सयवर्ष पुगेको अवसरमा अहिंसा शताब्दी महोत्सव सुरु भएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए । चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा ९ गतेसम्म चुम शताब्दी श्याग्या (अहिंसा) महोत्सव संचालन हुने उनले बताए ।

नेपाल बृद्धको जन्मभूमि भएकाले विश्वसमा शान्तिको सन्देश दिन, अहिंसा क्षेत्रको चिनारी, निरन्तरता, प्रचार प्रसार र जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्य महोत्सवको रहेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।
उद्घाटनसँगै प्रकृति पूजा, शान्ति दीप प्रज्वलन, अहिंसा क्षेत्र निरन्तरताका लागि प्रधानमन्त्रीले हस्ताक्षरमार्फत प्रतिवद्धता पनि जनाएका छन् । शान्तिको पदयात्रा, धर्म गुरुबाट क्षमापूजा, वुद्धका प्रवचनलगायतका गतिविधि महोत्सव अवधीमा हुनेछ ।
त्यहाँका स्थानीयले जनावरको काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासु खाने तथा मासु खाने प्रयोजनका लागि बेच्ने उद्देश्यले पशुपालन नगर्ने, सोही उद्देश्यले चुम उपत्यका हुँदै हिडाउन नदिने प्रतिवद्धता जनाएका छन् । त्यस्तै काम दिन नसक्ने गरी बुढो भएको जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिलाई नबेच्ने र चौंरीको बाच्छा नमार्ने प्रतिवद्धता जनाएका छन् ।

चुमभ्याली घुम्न जाने आन्तरिक तथा बाहय पर्यटकहरुले पनि सोहि नियम पालना गर्नुपर्ने हुन्छ । यहाँका सबै होटलहरु शाकाहारी छन् । यस गाउँको प्रहरी चौकीमा बस्ने प्रहरी तथा तल्लो क्षेत्रबाट गएका कर्मचारीले समेत काटमार गर्दैनन्, मांश आहार गर्दैनन् ।
१९७७ सालको वुद्धजयन्तीका दिनमा तत्कालीन अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामूहिक प्रतिवद्धता गराएका थिए । त्यतिबेलादेखि उत्तरी चुम उपत्यका अहिंसा क्षेत्रको रुपमा निरन्तर कायम छ ।

अहिंसा क्षेत्रलाई स्थानीय वासिन्दाले विभिन्न मितिमा पुन अनुमोदन गर्दै आएका छन् । १९७७ पछि १९९६, २०२७, २०२९, २०५५ सालमा पनि स्थानीय बासिन्दाले अहिंसा क्षेत्रलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए । २०६५ सालमा छेकम्पार गाउँ परिषदले अहिंसा क्षेत्रको चार किल्ला घोषणा ग¥यो भने २०६६ सालमा पहिलो चुम श्याग्या (अहिंसा) महोत्सव आयोजना गरिएको थियो । त्यस्तै २०६९ मा चुम्चेत (चुम उपत्यकाको तल्लो क्षेत्र) लाई पनि अहिंसा क्षेत्र घोषणा गरिएको थियो ।




