
बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या
प्रसिद्ध गाउँ बारपाकमा रहेको नेपाल टेलिकमको टावरमा नेटवर्कसम्बन्धी समस्या देखिएको छ । विगत दुईहप्तादेखि टावरमा समस्या आएका कारण फोन गर्न र इन्टरनेट चलाउन समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।
‘एक÷दुई हप्ता जति भयो नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । कहिले फोन नटिप्ने, कहिले इन्टरनेट नचल्ने समस्या हुदै आएको छ’, हिमालय माविका शिक्षक सुकबहादुर गुरुङले भने । कहिलेकाहीँ दिउसै पनि मोबाइलले काम नगर्दा स्थानीयहरु हैरान हुनुपरेको उनले बताए ।
नेपाल टेलिकम कार्यालय गोरखाका प्रमुख सरोज अर्यालले भने बारपाक रहेको नेपाल टेलिकमको टावरमा विद्युतको भोल्टेज नपुगेका कारण टावरमा प्राविधिक समस्या आएको बताए । ‘त्यहाँ रहेको नेपाली टेलिकमको टावरमा लोकल हाइड्रोपावरको विद्युत जडान गरेका थियौँ । स्थानीय हाइड्रोपावरको भोल्टेज कम भएका कारण टावरमा समस्या आएको हो’, उनले भने, ‘हामीले केन्द्रीय प्रसारण लाइनको थ्री फेज मिटर जडान गर्न पोखरामा निवेदन लेखेर पठाएको छौँ । मिटर जडान गरेपछि छिट्टै समस्याको समाधान हुन्छ ।’
केहि दिन भित्रका केन्द्रीय प्रसारण लाइनको मिटर जडान गरेपछि टावरमा समस्या नआउने उनको भनाइ छ ।




