
पूर्वमन्त्री बस्नेतद्वारा गोरखा नारेश्वर सडक कालोपत्रे कामको शिलान्यास
गोरखा नगरपालिकाको गैरी कुवा–भुसपानी–होलसिङसम्म कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामशरण बस्नेतले सडक कालोपत्रे कार्यको शिलान्यास गरेका हुन् ।
गोरखा नगरपालिका वडा नं ३ को कार्यालयद्वारा बाजागाजा सहित आयोजित एक समारोहका बीच पूर्वमन्त्री बस्नेतले बुधबार १० किलोमिटर कालोपत्रे गर्ने कार्यको शिलान्यास गरेका हुन् ।
सडक कालोपत्रे हुनेभएपछि गोरखा बजारसम्म आउजाउ गर्न पनि वर्षौँदेखि धुलो र हिलोको सास्ती खेप्दै आएका नारेश्वरबासी खुसी भएका छन् ।
‘यहाँ २०४५ सालदेखि सडकको ट्र्याक खुलाइएको हो, तर अहिलेसम्म कालोपत्रे हुन सकेको थिएन’, वडाअध्यक्ष चुलबहादुर कुँबरले भने, ‘वर्षौदेखि स्थानीयहरु बजारसम्म आउन धुलो र हिलोको सास्ती खेपिरहनु परेको थियो । अहिले सडक कालोपत्रे गर्ने कार्य सुरु भएपछि स्थानीयबासी सबै खुसी भएका छन् ।’
गैरीकुवाको भुसपानीदेखि नारेश्वर, घलाङ, आँपचौर हुदै हुलसिङसम्मको १० किलोमिटर सडक कालेपत्रे हुन लागेको हो । अहिले गुणस्तरीय काम गर्न वडाबाट पटक पटक अनुगमन, निरिक्षण भइरहेको उनले जानकारी दिए । सडक समयमै कालोपत्रे हुन सक्दा स्थानीय आउजाउमा सास्ती खेप्न बाध्य छन् । कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले आगामी जेठ १५ गतेसम्म कालोपत्रे सक्ने जनाएको छ ।
अहिले सडक स्तरउन्नती भएसँगै उत्तरी गोरखा बारपाक, लाप्राक पनि यहि सडकखण्ड भएर आउजाउ गर्दे आएका छन् । सडक कालोपत्रे भएपछि नारेश्वरबासी र उत्तरी गोरखा जाने स्थानीयहरुका लागि धेरै सहज हुने वडा अध्यक्ष कुँवरले जानकारी दिए ।
वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत, पूर्वाधार विकास कार्यालय गोरखाका निमित्त कार्यालय प्रमुख अजय श्रेष्ठ, नेकपा एकीकृत समाजवादी गोरखाका अध्यक्ष यादव बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवनज्योति श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्र नारेश्वर वडा कमिटीका राजु थापा, नेपाली काँग्रेसका भूगोल थापा, वडा नं ५ का वडा सदस्य लोक बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।




