| बुधबार, कार्तिक २५, २०८३

रिचेत खोलाको एकै ठाउँमा दुईवटा जलविद्युत आयोजना

धार्चे गाउँपालिका ६ को रिचेतखोलाको एकै ठाउँमा दुईवटा जलविद्युत आयोजना निर्माण हुने भएको छ । पाँच मेगावाटको लोअर रिचेतखोला जलविद्युत आयोजना सम्पन्न भइसकेको छ भने त्यसकै नजिकमा दुई मेगावाटको अपर रिचेत जलविद्युत आयोजना निर्माण हुँदैछ ।

अपररिचेतखोला जलविद्युत आयोजना दुई बर्षअघि निर्माण भएर सञ्चालनमा आइसकेको छ । त्यसको बाँधमा निकास हुने गरी बिगत चारबर्षदेखि अपर रिचेतखोला जलविद्युत आयोजना निर्माणको क्रममा छ ।
अमूल्य इन्फास्टरक्चर कम्पनीले यहाँ जलविद्युत आयोजना निर्माण गरेको हो ।

अपर रिचेतखोला जलविद्युत आयोजनाको सम्पूर्ण कामको ९० प्रतिशत सम्पन्न भइसकेको साइट मेनेजर भगवान खत्रीले जानकारी दिए । ‘बाँध निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । नहर खनिसकिएको छ । पाइप बिछ्याउने काम ६० प्रतिशत सम्पन्न भएको छ’, प्रवद्र्धकमध्यका एक खत्रीले भने, ‘पावरहाउस निर्माणका लागि जग्गा तयार भइसकेको छ । अब संरचना निर्माणको काम बाँकी छ ।’ इलेक्ट्रिक मेकानिकको काम पनि बाँकी रहेको उनको भनाइ छ । ‘इलेक्ट्रिक मेकानिक तयार भइसकेको छ । अब ढुवानी गरेर ल्याउन र जोड्न मात्र बाँकी हो’, उनले भने ।

२०७७÷०७८ सालदेखि सो आयोजनाको काम सुरु भएको हो । आउँदो असार मसार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्ने प्रवद्र्धक कम्पनीको लक्ष्य रहेको छ ।

सो आयोजनाका लागि राष्ट्रिय वाणिज्य वैँकको ६७ प्रतिशत ऋण लगानी छ । ३३ प्रतिशत लगानी कम्पनीको छ । ‘कम्पनीका अध्यक्ष आनन्द प्रधान, मनोज मल्ल र म भगवान खत्री यसका प्रवद्र्धक हौँ’, खत्रीले भने ।

बाँधबाट ६० प्रतिशत नहरबाट पानी ल्याई यार्साखोलामा पावर हाउस निर्माण गरी विद्युत उत्पादन गरिने छ । यहाँबाट उत्पादित विद्युत धादिङको बसेरीस्थित सब स्टेशनमा लगी केन्द्रीय प्रशारणमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्