
बारपाक लाप्राक सडकखण्ड : दुई महिना बाँकी हुँदा ४८ प्रतिशत मात्र काम
केशव गुरुङ :
निर्माण ब्यवशायीले काम नगर्दा प्रसिद्ध पर्यटकीय गाउँ बारपाकदेखि लाप्राक गुप्सीबस्तीसम्मको १३ दशमलव १४ किलोमिटर सडकमा अहिलेपनि यात्रुबाहक बस चल्न सकेको छैन । साना सवारी साधन आउजाउ गर्न पनि मुस्किल छ ।
३४ करोड १५ लाख लागतमा उक्त खण्ड स्तरोन्नति गर्ने (ग्राबेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउने) गर्ने जिम्मा लिएको शर्मा÷विक्वी जेभीले सुस्त गतिमा काम गरिरहेको छ ।
२०७७ जेठ ९ गते पूर्वाधार विकास कार्यालय गोरखासँग सम्झौता गरी २०७९ जेठ २२ सम्ममा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको कम्पनीले कबुल गरेको समयभित्र काम गर्न नसकेपछि पहिलो पटक म्याद थप गरिएको कार्यालयले जनाएको छ ।
पहिलो पटक २०८० जेठ २१ सम्म म्याद थप भएको पूर्वाधार विकास कार्यालयका सडकतर्फका इन्जिनियर दिपक बस्नेतले बताए । उनकाअनुसार ठेकेदार कम्पनीले नाली बनाउने, ग्याविन भर्ने लगायतका मेसिनरी कामको जिम्मा लिएको थियो । तर अहिले कामको गति हेर्दा थपिएको समयसीमाभित्र पनि काम नसक्ने देखिएको उनले बताए ।
अहिलेसम्म भौतिक प्रगति ४८ प्रतिशत मात्रै भएको कार्यालयका इन्जिनियर बस्नेतले बताए । ‘बित्तिय प्रगति करिब ४२ प्रतिशत मात्र छ’ उनले भने ।
दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षातका बेला निर्माण सामग्री लैजान समस्या हुने, दुई स्थानमा पहिरो गएका कारण देखाएर ब्यवशायीले काम रोक्दै आएका छन् । अहिले पनि फिल्डमा उपकरण, सामग्रीहरुसहित मजदुरहरु काम गरिरहेका छन् ।
समयमै सडक स्तरोन्नति नगरेको भन्दै लाप्राकका स्थानीयहरु निर्माण ब्यवशायीसँग रुष्ट छन् । अहिले बारपाकदेखि लाप्राक, गुम्दा जाने सर्वसाधारणले सडक सहज नभएकै कारण महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता छ । निर्धारित समयमा सडक स्तरोन्नति सम्पन्न गरिनसक्दा अत्यावश्यकीय सामाग्री ढुवानीका साथै मानिसहरु आउजाउ गर्न समस्या भएको लाप्राकका स्थानीय किरण गुरुङले बताए । अहिले बल्लतल्ल केहि कामदारहरुले ग्याविन भर्ने काम गरिरहेका छन् । सडक स्तरोन्नतिमा ढिलासुस्ती हुँदा लाप्राकसम्म नियमित बस संचालन हुन नसकेको उनले बताए ।
बारपाक लाप्राक सडकखण्ड समयमै स्तरउन्नति नहुँदा खाद्यान्न लगायत विरामी बोक्न समस्या भएको धार्चे गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष किसान गुरुङले बताए । ‘बाटो अवरुद्ध भएर दुई÷तीन घण्टा बाटोमै रोक्नुप¥यो भने सुत्केरी हुन नसकेका बिरामी तथा गम्भीर घाइतेहरुको त ज्यानै जान सक्ने सम्भावना हुन्छ’, उनले भने, ‘त्यसैले हामीले ठेकेदार कम्पनीलाई पटक पटक बाटो छिट्टै निर्माण सम्पन्न गर्न अनुरोध ग¥यौँ तर सुनुवाई नै भएन ।’ लाप्राकको गुप्सीपाखा आउने आन्तरिक पर्यटकहरु बाटो राम्रो नहुँदा बिच बाटोबाट नै फर्किने गरेको उनको दुखेसो ।
‘अहिले बल्ल काम भइरहेको छ तर चाहिने जति कामदार नै छैन’, उनले भने, ‘एक हप्ताका लागि भनेर बाटो बन्द गरेको पनि महिनौँ भयो ।’ ठेकेदार कम्पनीले अहिले विहानको ११ बजे देखि दिउसो ३ बजेसम्म बाटो बन्द गरेर काम गर्दै आएको छ । यसले स्थानीयहरु आउनजाउमा समस्या भएको उनले बताए ।
सडक निर्माण छिटो पूरा गर्न आफुले पूर्वाधार कार्यालय, जिल्ला प्रशासन र निर्माण ब्यवशायीलाई पनि बारम्बार भन्ने गरेको उनले बताए । निर्माण ब्यवशायीले काम हुन्छ भन्ने तर नगर्ने गर्दा बारपाक लाप्राक सडक अलपत्र छ ।
२०७२ सालको भुकम्पको केन्द्रबिन्दु बारपाक गएका सर्वसाधारण लाप्राकसम्म जान चाहन्छन् । धार्चे गाउँपालिकाको लाप्राक गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकीकृत नमूना बस्ती निर्माण गरेको ठाउँ हो ।
गुप्सिपाखामा निर्माण भएको पाँचसय भन्दाबढि एकैखाले बस्ती रहेको घर हेर्न पनि आन्तरिक पर्यटक लाप्राक जाने गर्छन् । त्यहाँ हिउँ पनि पर्छ । बारपाकदेखि लाप्राक जाने सहज नहुँदा धेरै आन्तरिक पर्यटक बारपाकबाटै फर्कने गरेका छन् ।




