| बुधबार, कार्तिक २५, २०८३

गोरखामा पुस्ता हस्तान्तरण प्रशिक्षण कार्यक्रम

पुराना पुस्ताले दशकौँ समय खर्चेर आर्जन गरेको ज्ञान नयाँ पुस्तालाई बाँड्ने उद्देश्यले गोरखामा पुस्ता हस्तान्तरण प्रशिक्षण कार्यक्रम गरिएको छ । नयाँ पुस्तालाई संस्कारसहितको शिक्षा दिने उद्देश्यले ज्येष्ठ नागरिक जिल्ला संघ गोरखाले सोमबार बिहान नयाँ पुस्तालाई पुस्ता हस्तान्तरण प्रशिक्षण गरेको हो ।

कार्यक्रममा गोरखा जिल्लामा रहेका विभिन्न ६ वटा क्याम्पसका क्याम्पस प्रमुखहरुका साथै जिल्लाका विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु सहभागी थिए । कार्यक्रममा जिल्लाका ६ वटा क्याम्पसको पुस्तकालयमा रहने गरी डा. गोविन्द टण्डनद्वारा लिखित ‘संस्कृति’ नामक पुस्तक क्याम्पस प्रमुखहरुलाई हस्तान्तरण गरिएको थियो ।

प्रत्येक क्याम्पसलाई ५÷५ वटाका दरले पुस्तक हस्तान्तरण गरिएको जेष्ठ नागरिक जिल्ला संघका सचिव बोध प्रसाद अधिकारीले बताए ।

सोही अवसरमा कार्यक्रममा बोल्ने वक्ताहरुले पुराना पुस्ताको ज्ञान र सीपको सदुपयोग गर्दै भावी सन्ततिहरुलाई मार्ग निर्देशन गर्नुपर्ने बताएका थिए ।

नेपाली समाजको उच्चत्तम संस्कार, संस्कृति नयाँ पुस्ताले नजान्ने र बिलय भएर जान सक्ने भएकाले सबैले यसको सिको गर्दै असल, सभ्य र अनुशासिन समाज निर्माणमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ ।
अहिलेको विश्वव्यापीकरणका कारण संस्कृतिमा आएको परिर्वतनले आजभोलि जेष्ठ नागरिकप्रति छोराछोरी नजिक हुन नसकेको डा सुन्दरश्याम मास्केले बताए ।

उनले असहाय, गरिब जेष्ठ नागरिकहरुलाई विभिन्न सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गर्न सबै लाग्नुपर्ने बताए । त्यस्तै, वृद्धवृद्धालाई सम्मान गर्ने, आफुभन्दा ठूलालाई सम्मान, आदर गर्ने र सानालाई माया गर्ने संस्कार सबै बालबालिकाहरुलाई सिकाउनुपर्ने र विद्यालयमा पाठ्य पुस्तकमा पनि उक्त कुरा समावेश गरिनुपर्ने बताए ।

संविधानमा उल्लेख भएअनुसार जेष्ठ नागरिकको हकअधिकार, उनीहरुप्रति गर्नुपर्ने कार्यहरु, दायित्व पूरा गर्दै आएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले बताए । समाजमा विद्यमान गलत संस्कार, परम्परालाई ल्याग्दै नयाँ सुधारात्मक पक्ष तथा राम्रो संस्कारको मात्र अनुसरण गर्दै जानुपर्नेमा जोड दिएका थिए । सबैले असल समाज निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ ।

जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गोरखाका गणेशप्रसाद भट्टराई, गोरखा नगरपालिकाका सामाजिक शाखाका प्रमुख विजयभक्त उपाध्याय, संघका उपाध्यक्ष दिलबहादुर बस्नेत, भीमोदय बहुमुखी क्याम्पस आरुघाटका क्याम्पस प्रमुख डाक्टर वीरेन्द्र पुडासैनी, परोपकार आदर्श बहुमुखी क्याम्पसका दिपक पराजुली, गोरखा क्याम्पसका प्रमुख रामशरण बानियाँ, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, भवानी क्याम्पसका प्रमुख चेतनाथ पन्त लगायत सरकारी र गैर सरकारी संघसंस्थामा आवद्ध व्यक्तिहरु तथा स्थानीय जेष्ठ नागरिक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्