
पालुङटार नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रमका बारे विज्ञहरुसँग छलफल
गोरखाको पालुङटार नगरपालिकामा आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रमका बारेमा विज्ञहरुसँग छलफल भएको छ । पालुङटार नगरपालिकाको आयोजनामा शनिबार काठमाडौमा नगरपालिकाको आर्थिक वर्ष २०८० र ८१ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा साथै भू–वर्गीकरण सम्बन्धी विज्ञ व्यक्तिहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उत्त छलफल कार्यक्रममा प्रतिनिधि सभा सदस्य माओवादी केन्द्र संसदिय दलका मुख्य सचेतक हितराज पाण्डेले जग्गा वर्गिकरणको विषय पालुङटार नगरपालिकाको मात्र समस्या नभएर समग्र देश कै परिस्थिति संग जोडिएकाले जग्गा बर्गिकरणका लागि हतारिन नहुने बताए । सोहि अवसरमा उहाँले नेपाल कै ठूला टारहरु मध्येको टार पालुङटार भएकाले यो टारको विकास गर्न के गर्न सकिन्छ भनेर सबै बिज्ञ साथिहरुले सोच्नुपर्ने बेला आएको बताए ।
उहाँले मेट्रो रेलको कन्सेप्ट काठमाण्डौमा मात्र भन्दा पनि पालुङटार भित्रका टारहरुलाई समेटेर मेट्रो रेल सञ्चालन गरी पर्यटक भित्र्याउन लाग्नु पर्ने भन्दै त्यसका लागि आँफुले माथिल्लो निकायमा पहल गर्ने समेत प्रतिबद्धता जनाए ।
गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्र राज पाण्डेले किसानलाई स्वरोजगार बनाउन विशेष प्याकेजका कार्यक्रम ल्याउनपर्ने बताए । किसानले उत्पादन गरेका बस्तुलाई बजारको व्यवस्थापन गर्न तर्फ स्थानिय सरकार लाग्नु पर्ने भन्दै उहाँले उत्पादन बढाउनका लागि पकेट जोन बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । उनले कुन भूगोलमा के गर्ने भन्ने विषयको टुङ्गो लगाएर मात्र जग्गा वर्गिकरणको विषयलाई अगाडी ल्याउनु पर्नेमा जोड दिएका थिए ।
गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देबकोटाले पालुङटारको बिकासको जिम्मा बिज्ञहरुको हातमा आएको भन्दै त्यसको लागि आफुहरु सबै संग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । सोहि अवसरमा उहाँले पालुङटार नगरपालिकाले बिभिन्न बिधाका बिज्ञहरु संग सुझाब संकलन गरेर उदाहरणीय काम गरेको उनले बताए ।
पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले पालुङटार नगरपालिका स्थायी घर भई काठमाण्डौं वसोवास गर्ने विशिष्टता हाँसिल गरेका व्यक्तिहरुको सुजावलाई समेट्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । सोहिअवसरमा विज्ञहरुबाट आएको सुझाबलाई आत्मसाथ गर्दै कार्यान्वयन गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगरप्रमुखले जग्गा बर्गिकरण सम्बन्धि र पालिकाको नीति तथा कार्यक्रमको मोडेलका बारेमा प्रस्तुतिकरण दिएका थिए ।
नगर प्रमुख विवस चिन्तनको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बन्दना पाण्डे, प्रतिनिधि सभा सदस्य तथा प्रमुख सचेतक हितराज पाण्डे, गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धिताल, प्रदेश सभा सदस्य सुरेन्द्र पाण्डे, प्रदेश सभा सदस्य फणिन्द्र देवकोटा, पुर्व नगर प्रमुख दिपक बाबु कडेलको उपस्थिति रहेको थियो ।
त्यस्तै, पालुङटार नगरपालिकाका बिभिन्न क्षेत्रमा काम गरेर विज्ञता हासिल गरी काठमाडौँमा रहनु भएका बिज्ञहरुको उपस्थिति रहेको यस छलफल कार्यक्रममा डा. मोदनाथ मरहट्टा, डा. सुमन बाबु मरहट्टा, डा. हरि कुमार श्रेष्ठ, डा. लक्ष्मी मरहट्टा लगायतका विज्ञहरुले पालुङटारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सुझाव दिएका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।




