
पहुँच होईन, आवस्यकताका आधारमा बजेट बिनियोजन हुन्छ : कांग्रेस नेता पाण्डे
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश संसदिय दलका नेता सुरेन्द्रराज पाण्डले पहुँचका आधारमा नभई आवस्यकताका आधारमा प्रदेश सरकारले बजेट र कार्यक्रम बनाउने बताएका छन् । गृहजिल्ला गोरखामा बुधवार पत्रकारहरुसँगको भेटघाटमा उनले भने ‘मकै छरेजस्तो बजेट छरेर हुँदैन, हामीले प्रदेश सरकारको कार्यकालभित्र पुरा गर्ने योजना मात्रै छनौट गर्छौँ ।’ केहीदिनमा कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने बताउँदै उनले अब बन्ने सरकारले लिने योजनाका बारेमा बताएका हुन् । अहिले योजना धेरै बजेट अभाव हुँदा काम गर्न समस्या भएको उनले बताए ।
केहीदिन यता आफ्नो प्रदेश निर्वाचन क्षेत्र गोरखा २ ‘ख’ का सर्वसाधारण जनतासँग भेटघाट गरेका उनले स्थानीयको पहिलो माग स्तरीय सडक रहेको बताए । उनी गोरखाको बारपाक सुलिकोट, अजिरकोट, सिरानचोकका बिभिन्न ठाउँमा स्थानीयसँग भेटघाट गर्न पुगेका थिए ।
अल्पमतमा रहेको गण्डकी प्रदेश सरकारलाई नयाँ सरकार गठनकालागि बाटो खुल्ला गरिदिन उनले सुझाब दिए । अब बन्ने सरकार कांग्रेसको नेतृत्वमा बन्ने दावी गर्दै उनले भने ‘संसदमा ठुलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री बनाउने प्रावधान धारा १६८, उपधार ३ अन्तरगत छ ।’ अल्पमतका मुख्यमन्त्रीलाई अहिले उद्घाटन र सिलान्यास गर्न भ्याई नभ्याई भएको उनले बताए । सोही अनुसार प्रदेश सरकार गठन हुने उनले बताए । प्रदेशमा निर्वाचन लड्न आउँदा नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेतासँग मुख्यमन्त्रीका विषय टुङ्गिसकेको उनले बताए ।
शिर्ष नेताहरुबिच छलफलपनि चलिरहेको बताउँदै उनले भने ‘सबै विषय प्रदेशमा टुङ्गो लाग्दैन, केन्दबाट नेताहरुबिच छलफल भएर टुङ्गोमा पुग्छ ।’ मन्त्रिमण्डल गठनका विषयमा गठबन्धन दलहरु बिच छलफल हुने उनले बताए । सातवटै प्रदेशमा आलोपालो गर्ने तयारी गठबन्धन दलहरुको छ ।
बुधवार बिहान गोरखामा कांग्रेस र माओवादी केन्द्रका नेताहरु बिच छलफल भएको थियो । बिकास निर्माण, बजेट, योजनामा एकरुपता ल्याउने विषयमा छलफल भएको नेता पाण्डेले बताए । पार्टीबिचको समन्वय, बिकास निर्माण र राजनीतिक विषय लगायतका बारेमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।
नेता पाण्डेले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका सभापति लगायतका नेतालाई लगाएको आरोपको खण्डन गरेका छन् । ‘स्वर्णिम वाग्लेले कांग्रेसमा पैसा नतिरी केही पाईँदैन भन्नुभएको छ, उहाँले योजना आयोगको सदस्य र उपाध्यक्ष हुँदा कति पैसा तिर्नुभयो जनतालाई भनिदिनु¥यो’ उनले भने । पार्टीमा आउन जान, बस्न छुट भएको तर जसले अवसर दियो उसैलाई गाली गर्नुको कुनै औचित्य नरहेको उनको भनाई थियो ।
जागिर खाएर बिदेश बसेका बेला वाग्लेलाई कांग्रेसले अवसर दिएको उनले बताए । कांग्रेसले दिएको अवसरले उनी स्वर्णिम वाग्ले भनेर चिनिएको उनले बताए ।




