
‘यही दरले जनसंख्या घटेमा गोरखाको सांसद संख्या घट्नेछ’

‘भर्खरै एसईई सकेका १० जना परीक्षार्थीलाई ‘अब कहाँ पढ्ने ?’ भनेर सोध्दा एकजनाले पनि जिल्ला भित्र पढ्छु भनेनन्’, खनालले कटु अनुभव सुनाए, ‘११, १२ कक्षा पढ्न त यसरी बाहिरिन्छन् भने ब्याचलर पढ्न झन धेरै बाहिरिनेछन् । नपत्याए सोध्नुस्, गोरखा क्याम्पस र द्रव्यशाह क्याम्पसमा गणित, विज्ञान पढ्ने विद्यार्थी संख्या कति छन् भनेर । तपाईले चिन्ताजनक अबस्था पाउनु हुनेछ ।’
२०६८ को जनगणना अनुसार गोरखामा दुईलाख ७१ हजार ६१ जनसंख्या थियो । मतदाता संख्या दुईलाख २० हजार ६३७ थियो । निर्वाचन क्षेत्र निर्धारण समितिले जनसंख्या र मतदाता संख्याका आधारमा गोरखामा प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र निर्धारण गरेको थियो ।
‘१० बर्षयता जनसंख्या २० हजार भन्दा धेरैले कम भएको छ । यही अनुपातमा जनसंख्या र मतदाता संख्या दुईलाखबाट ओह्रालो लागेमा अबको १० बर्षमा निर्वाचन क्षेत्र पनि घट्नेछ, सांसद संख्या पनि घट्नेछ’, तथ्यांक सम्बन्धी स्थानीय जानकार पवनरमण खनाल भन्छन्, ‘चितवनमा पाँचबर्षमा ५५ हजार मतदाता थपिए, गोरखामा पाँच बर्षमा पाँच हजार थपिए । अब थपिँदै होइन, घट्दैछन् ।’ परिबार नियोजनका कारण पनि जनसंख्या घटेको उनको भनाइ छ । ‘पहिले जेठो, माहिलो, साहिलो, काहिँलो, कान्छो सन्तान हुन्थे । अहिले एक मात्र सन्तान जन्मेपछि परिबार नियोजन गर्ने बढेका छन्’, खनालले भने ।
शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर खोज्दै बसाइँसराई बढेपछि जनसंख्या घटेको उनको भनाइ छ ।
बूढीगण्डकी जलविद्युत आयोजनाबाट मनग्य मुआव्जा लिएर जिल्ला बाहिर बसाइँसराई गर्नेहरुका कारण पनि जिल्लाको जनसंख्या घटेको खनालको भनाइ छ । ‘मुआव्जाको आधाचाहिँ रकमै दिने र बाँकी आधाचाहिँ रकम बराबरको सुरक्षित क्षेत्रमा जमिन दिने व्यवस्था भएको भए बसाइँ सराइ कम हुन्थ्यो ।’ बसाइँसराई रोक्न गाउँपालिकाले ठोस कदम चाल्नु पर्ने उनको सुझाव छ ।
मुआव्जा पाउने भीमसेन थापा गाउँपालिकामा १० बर्षअघिको जनसंख्या २२ हजार ३३ थियो । अहिले घटेर १६ हजार ९८६ जनामात्र भएको छ । सहिदलखन गाउँपालिकामा २७ हजार ५५५ जना रहेकामा घटेर २३ हजार ७६ जना भएका छन् । गण्डकी गाउँपालिकामा २३ हजार २५३ बाट २१ हजार ३९४ जनामा झरेको देखिन्छ । र, मुआव्जा पाउनेमध्यकै आरुघाट गाउँपालिकामा १० बर्षअघि २३ हजार ८८४ जनसंख्या रहेकामा अहिले घटेर २१ हजार ५७२ जना बाँकी छ ।
यी मात्र होइन, गोरखामा बिगत १० बर्षयता वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ । २०६८ को जनगणनामा गोरखाको जनसंख्या दुईलाख ७१ हजार ६१ रहेकोमा २०७८ को जनगणनामा २० हजार ३४ ले घटेर जम्मा दुईलाख ५१ हजार २७ भएको छ । ०.७४ प्रतिशतले जनसंख्या घटेको हो ।
११ वटा गाउँपालिका रहेको गोरखामा धार्चे गाउँपालिका र गोरखा नगरपालिकाको जनसंख्यामा थोरै वृद्धि भएको छ । अन्य नौवटै पालिकाको जनसंख्या घटेको तथ्यांकमा उल्लेख छ । जनगणना २०६८ को तुलनामा २०७८ मा गोरखाको जनसंख्या २० हजार ३४ घटेको छ ।
राष्टिूय जनगणनाको तथ्यांक अनुसार १० वर्षको जनगणनाको तुलना गर्दा गोरखा नगरपालिका र धार्चे गाउँपालिकाको जनसंख्या बढेको हो भने अन्य आठ पालिकामा घटेको हो । गोरखा नगरपालिकामा २०६८ मा ४९ हजार २७२ जना रहेकोमा २०७८ मा ५२ हजार ४ सय ६८ जना पुगेको छ । धार्चे गाउँपालिका पनि १० बर्षअघिको जनगणनामा १३ हजार २२९ जना रहेकोमा २०७८ मा १४ हजार २६३ जना पुगेको छ ।
यी दुई पालिका बाहेक अन्य पालिकाहरुमा दश वर्षपछि भएको जनगणनामा जनसंख्या घटेको छ ।
दशवर्षको अवधिमा सिरानचोकमा २३ हजार ६२८ बाट घटेर १९ हजार ७१९ जना, अजिरकोट गाउँपालिकामा १५ हजार ६०२ बाट घटेर १२ हजार ८३२ जना र बारपाक सुलिकोट गाउँपालिकामा २५ हजार ३८९ जना रहेकोमा अहिले २२ हजार ६३६ जनामा भएको छ । यस्तै, चमुनुब्री गाउँपालिकामा ६ हजार ९२३ जनाबाट घटेर जम्मा ५ हजार ९३२ जना भएको छ ।




