| बुधबार, कार्तिक २५, २०८३

प्रधानमन्त्रीद्धारा गोरखा अस्पतालको स्वर्णजयन्ती समारोहको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहको उद्घाटन गरेका छन् । शुक्रबार एक समारोहका बीच प्रधानमन्त्री प्रचण्डले स्वर्ण जयन्ती समारोहको उद्घाटन गरेका हुन् ।

साथै सो अवसरमा उनले गोरखा अस्पतालले पहिलो पटक सञ्चालनमा ल्याएको सघन उपचार कक्ष(आइसियू)को र स्वर्ण जयन्ती स्तम्भको पनि उद्घाटन गरेका छन् । स्वर्ण जयन्तीका अवसरमा प्रकाशित गोरखा अस्पतालको स्वर्ण स्मारिका २०७९ को विमोचन पनि गरेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित सो समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गोरखा अस्पतालको विकासका लागि आफूले यथासक्य मद्दत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै सोही अवसरमा बोल्दै उनले बूढीगण्डकी जलविद्युत आयोजनाको छिट्टै शिलान्यास गर्ने पनि बताए ।

आफूले चुनाव प्रचार प्रसारका बेला मतदातासामु गरेका प्रतिवद्धतालाई पूरा गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए ।
पालुङस्थित एयरपोर्टलाई पाइलट तालिम केन्द्रका रुपमा विकास गर्ने, गोरखकाली रबर उद्योगलाई नयाँ मोडल तयार गरी पुन सञ्चालन गर्ने बाचा नभुलेको उनको भनाइ छ ।

त्यस्तै गोरखाका प्रमुख कच्ची सडकहरुलाई कालोपत्रे गर्ने कामको सुरुवात भइसकेको बताए । बाँकी प्रमुख सडकहरु पनि केही क्रमशः कालोपत्रेको चरणमा लैजाने बताए । त्यसका लागि भौतिक पूर्वाधार मन्त्रालय पनि गोरखाकै मन्त्रीलाई बनाएको भन्दै उनले हाल सो मन्त्रालय नेकपा (एकीकृत समाजवादी)को पोल्टामा गए पनि सो पार्टी र आफ्नो पार्टी एकीकरण गरेपछि सो मन्त्रालय पनि आफ्नै पोल्टामा पर्ने उनको तर्क छ ।

जडिबुटी प्रशोधनकेन्द्र स्थापना गर्ने, बेनिघाट, आरुघाट लार्के सडकलाई छिटो छिटो निर्माण सम्पन्न गर्ने लगायतका अभिभारा पूरा गर्न पनि आफू प्रतिवद्ध रहेको उनको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले अस्पतालमा दक्ष जनशक्ति र यन्त्र उपकरणको सही प्रयोग हुन सके जिल्लाबासीले सहज सेवा पाउने बताए । ‘बिमाबाट उपचार सेवा लिन आएकाले औषधी सहज पाईरहेका छैनन’ उनले भने ।

दरबन्दी अनुसार बिज्ञ डाक्टर नियुक्ती, सहुलियतमा शल्यक्रिया सेवा र प्रविधिमा जोड दिने हो भने गोरखाको दुर्गम गाउँका सर्वसाधारण महँगो उपचार गराउन अन्यत्र जानुपर्ने बााध्यता अन्त्य हुने सांसद पाण्डेले बताए ।

गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा अस्पताल विकास समितिका पूर्व अध्यक्षहरु बद्रीबहादुर मास्के, मोहनलाल श्रेष्ठ, पूर्व कर्मचारीहरु गणेशकुमार श्रेष्ठ, चनमाया श्रेष्ठ, सनकबहादुर राना पूर्व मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गुणराज लोहनी लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्