| बुधबार, कार्तिक २५, २०८३

गोरखाका घरहरुमा हराउँदै ढुङ्गा र खरको छानो, भुकम्पपछि टिनको छानो धेरै

केशव गुरुङ :

गोरखामा ७५ प्रतिशत घरपरिवारको घरको छानो जस्ताको रहेको पाइएको छ । राष्ट्रिय जनगणना अनुसार गोरखामा ७१ हजार सात सय २९ घरपरिवार छ । ति मध्ये ५३ हजार सात घरपरिवारको जस्ता÷टिनको छानो रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

२०७२ बैशाख १२ गतेको भुकम्पले घर भत्काएपछि नयाँ बनेका सबैजसो घरमा ढुङ्गाले छाइएको छैन । केही घर ढलान भएका छन् भने धेरैजसो टिन (जस्तापाता) ले छाइएको छ । खरको घर त अहिले देख्नै मुस्कि पर्छ ।

११ स्थानीय तह रहेको जिल्लामा सबै धेरै धार्चे गाउँपालिकामा ९२ प्रतिशत घरको छानो जस्ताले छाएको छ । त्यहाँ ३.८ प्रतिशत सिमेन्ट घर छ भने २.१ ढुङ्गाको छाना रहेका छ । सबै भन्दा कम गोरखा नगरपालिकामा ४६ प्रतिशत घरपरिवारको घरको छानो जस्तापाताको रहेको छ भने यहाँ जिल्लामै सबै भन्दा धेरै सिमेन्ट ढलानको घर ५१.२ प्रतिशत रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अजिरकोट गाउँपालिकामा ९० प्रतिशत घर जस्ताको छाना भएको छ भने ८.४ प्रतिशत सिमेन्ट ढलान गरेको घर रहेको छ ।

बारपाक सुलिकोट गाउँपालिकामा ८१ प्रतिशत घर जस्ताको छानो भएको छ भने सिमेट ढलान गरिएको घर १७.६ प्रतिशत रहेको छ ।

आरुघाट गाउँपालिकामा ७९.९ प्रतिशत घर जस्ताको छाना भएको र १८.७ प्रतिशत घर सिमेन्ट ढलान गरेको छ ।
भिमसेन थापा गाउँपालिकामा ७८.८ प्रतिशत घर जस्ता छाना भएको छ भने सिमेन्ट ढलान गरिएको घर १९ प्रतिशत घर रहेको छ ।

७७ प्रतिशत घरमा जस्ताको छानो भएको सिरानचोक गाउँपालिकामा १९ प्रतिशत घर सिमेन्ट ढलान गरिएको छ । यहाँ ३.३ प्रतिशतको घरको छानो ढुङ्गाले छाएको छ ।

गण्डकी गाउँपालिकामा ७६ प्रतिशत घरको छानो जस्ताको रहेको छ भने २०.७ प्रतिशत घर सिमेन्टले ढलान गरेको छ ।
यस्तै पालुङटार नगरपालिकामा ७२.८ प्रतिशत घरमा जस्ताको छानो रहेको छ भने २३.५ प्रतिशत घरमा सिमेन्टले ढलान गरिएको छ । यहाँ २.६ प्रतिशत घरको छानोमा ढुङ्गा छाइएको छ ।

सहिदलखन गाउँपालिकामा ७२ प्रतिशत घर जस्ताको छानो रहेको छ भने २२.५ प्रतिशत घर सिमेन्टले ढलान गरेको छ । यहाँ ढुङ्गाको छानो भएको घर ५.२ प्रतिशत रहेको छ ।

यस्तै, चुमनुब्री गाउँपालिकामा ६८.७ प्रतिशत घर जस्ताको छानो रहेका छ भने जम्मा ३.१ प्रतिशत घरमा सिमेन्टले ढलान गरेको छ । यहाँ जिल्लाकै सबै भन्दा धेरै २१ प्रतिशत ढुङ्गाको छानो लगाइएको घर रहेको छ । ५.४ प्रतिशत घरमा काठको छानो रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

गोरखामा खर, टायलको छानो भएको घरको संख्या भने निकै कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्