
घरदैलोमा जनता भेट्दै सांसद पाण्डे
गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डे यतिबेला जनता भेटघाटमा ब्यस्त छन् । गोरखा क्षेत्र नम्बर २ प्रदेस सभा ‘ख’ का बाट निर्वाचित कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पाण्डे चुनाव प्रचारमा जस्तै समय तालिका बनाएर टोलटोलमा मतदाता भेटघाट गरिरहेका छन् ।
‘जनताको गुनासो, समस्या सुन्न, धन्यवाद दिन घरदैलोमा छु, चुनावमा आफ्ना कुरा धेरै भनियो होला अहिले जनताको कुरा सुन्न आएको हो’ उनले भने ‘भोट माग्न मात्र होईन, जनतासँग भेटघाट गर्न अघिपछि पनि म मेरो क्षेत्र आईरहेको छु, आईरहन्छु ।’ भेटघाटका क्रममा जनताले बिकास निर्माणका बिभिन्न योजना माग गर्ने गरेको, शिक्षा स्वास्थ्य, रोजगारीका समस्याहरु सुनाउने गरेको उनले बताए ।

गाउँमा जनशक्ति नहुँदा कृषि योग्य जमिन बाँझिदै गएको गुनासो स्थानीयको छ ।
उच्च पहाडी भुगोल भएको गोरखा क्षेत्र नम्बर २ को प्रदेस ‘ख’ मा सुगमदेखि बिकट गाउँबस्ती छ । अधिकासं सडक कच्ची छ । ‘आवस्यकता र प्राथमिकताका आधारमा बिकास निर्माणको काम अघि बढाउने योजना मैलेपनि सोचेको छु’ सांसद पाण्डेले भने ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेले सोमवार र मंगलवार अजिरकोट गाउँपालिकाको बिभिन्न ठाउँमा भेटघाट गरेका छन् । भच्चेक, नम्की, खिम्पु, खरिबोट हुँदै लप्सीबोट, घ्याच्चोक, सिम्जुङ लगायत ठाउँ उनले भेटघाट सकिसकेका छन् ।
२३ गते सिरानचोक गाउँपालिकाको वडा नम्बर १,२,३ र २५ र २६ गते बारपाक सुलिकोट गाउँपालिकाका बिभिन्न वडामा कार्यक्रम रहेको पाण्डेका स्वकीय सचिव बिक्रम अधिकारीले बताए ।

यो प्रदेस क्षेत्र प्रधानमन्त्री पुष्पकमल दाहालको पनि निर्वाचन क्षेत्रमा पर्छ । चुनाव प्रचारका बेला धुले सडक कालोपत्रे गर्ने आस्वासन पाएका स्थानीय आशावादी छन् । चुनाव प्रचारका क्रममा दाहाल प्रधानमन्त्री र पाण्डे मूख्यमन्त्री भन्दै स्वयमले एक अर्काको चर्चा गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हाल प्रधानमन्त्री छन् । गण्डकी प्रदेसमा माओवादीले एमालेलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै सांसद पाण्डेलाई प्रधानमन्त्रीले घोषणा गरेको मुख्यमन्त्री पद नजिक आईपुगेको छ । एउटै क्षेत्रका ब्यक्ति प्रधानमन्त्री भईसकेको र मुख्यमन्त्रीपनि हुने दिन नजिकिएको भन्दै बिकास निर्माणले गती लिनेमा सर्वसाधारण धेरै आशावादी छन् ।




